May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सडक नियम पालना नगर्ने सवारी साधनले तिरे ३५ लाख जरिवाना

सडक नियम पालना नगर्ने सवारी साधनले तिरे ३५ लाख जरिवाना

१९ माघ ,२०७६, काठमाडौँ ।

चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रू. ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो ।

विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौं उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिंदै आएको छ ।

उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए ।

उनले भने, ‘हामीले सूचनाका आधारमा र आफैंले पनि उपयुक्त स्थान छानेर नियमितरूपमै अनुगमन र कारवाही गरिरहेका छौं ।’

विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भए पनि जनशक्ति कमीलगायतका कारण विभागभन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिरहेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गर्दा कारवाही गरे पनि नियमितरूपमा सडकमा अनुगमन कम गरेको यात्रुले गुनासो गर्दै आएका छन् ।

विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताए ।

सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ । नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिइएको छ । रासस