पिडित उखु किसान, अझै पाएनन् सबै भुक्तानी

पिडित उखु किसान, अझै पाएनन् सबै भुक्तानी

१९ माघ ,२०७६, काठमाडौँ ।

सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले भुक्तानी पाएका छैनन् । लामो समयसम्म उखुको भुक्तानी नहुँदा समस्यामा परेको भन्दै उखुको बक्यौता रकम छिटो भन्दा छिटो उपलब्ध गराईदिन भन्दै कृषकहरुले दुई साता लामो समय आन्दोलन गरेपछी गत १८ पुसमा ७ माघभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गरिसक्ने भन्दै सरकार र उखु किसानबीच सहमति भएपछी किसान क्षितिजपारी आशा देख्दै आएका थिए । उनीहरुको यो आशा फ्mेरी एकपटक निराशामा परिणत भएको छ । महासंघले भने माघ महिना भित्र सबै रकम भुक्तनी नभए पुःन आन्दोलनमा जाने चेतावनी दिएको छ ।
नेपाल उखु उत्पादन महासंघले जनाए अनुसार, सो सहमतिपछि केही उद्योगले बक्यौता रकम भुक्तानी गरे पनि अझै पाँचवटा चिनी उद्योगले किसानको ८२ करोड ८७ लाख बक्यौता रकम भुक्तानी गरेका छेनन् । २०७४ फागुन महिनादेखि नै भुक्तानी दिनुपर्नेमा यत्तिका महिना ढिलो हुँदा समेत कृषकले भुक्तानी पाउन सकेका छैनन् । सरकारले दिनुपर्ने अनुदान र चिनी उद्योगीको गरी करिब २ अर्ब १६ करोड रुपैयाँ उखु किसानको भुक्तानी बाँकी छ । चिनी उद्योगीबाट ८२ करोड ८७ लाख र सरकारले दिनुपर्ने अनुदानमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।
सरकारले दिएको समयसीमा सकिँदासम्म १४ वटा चिनी मिलमध्येका नौवटा चिनी मिलले बक्यौता भुक्तानी गरी मिल समेत सञ्चालन ल्याएका छन् भने बाँकी पाँचवटा मिलले अझै उखु किसानको भुक्तानी गरेका छैनन् । त्यसमध्ये अन्नपूर्ण सुगरमिलको ३८ करोड १ लाख, श्रीराम सुगरमिलको २६ करोड ७७ लाख ७८ हजार र महालक्ष्मी सुगर मिलको ९ करोड ९० लाख ५८ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ । यसैगरी, लुम्बिनी सुगरमिलको १० करोड र बाग्मती खाडसरी सुगरमिलको ८ करोड ४१ लाख ४१ हजार रुपैयाँ बक्यौता अझै किसानलाई भुक्तानी गर्नुपर्नेछ ।
उखु किसान समयमा भुक्तानी नपाएर समस्यामा पर्दै जाँदा पनि मिल सञ्चालक संवेदनशील नभएको उखु किसानहरुले आरोप लगाएका छन् । भुक्तानी पटक पटक पाउने आश्वासनमा बस्दा घर चलाउन, हाल धान खेती गर्न र बिहेवारीमा समेत समस्या भएको उखु कृषकले गुनासो गरेका छन् ।