May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कुखुराको मासुको मूल्यमा ७० प्रतिशतले वृद्धि

कुखुराको मासुको मूल्यमा ७० प्रतिशतले वृद्धि

२१ माघ, काठमाडौं ।
व्यापारीले लागत मुल्य नपाएको भन्दै गत मंसिर २९ गतेदेखि पुष १० सम्म चल्ला उत्पादन १० दिनसम्मै बन्द गरे । उनीहरुले चिकेन होलिडे नै मनाएर करिब ३० लाख चल्ला जिउँदै खाल्डामा हालेका थिए भने यस्तै सोही अवधीमा व्यापारीले २० लाख अण्डा नष्ट समेत गरेका थिए । त्यसको असर तत्काल बजारमा देखिएको थिएन तर अहिले करिब डेढ महिनापछी कुखुराको मासुको मूल्य वृद्धि भएको छ ।
यस अवधिमा कुखुराको मासुमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी मूल्य वृद्धि भई रु.४०० प्रतिकिलो पुगेको छ । दुई साताअघि प्रतिकिलो मासुको मूल्य रू.२८० रुपैयाँ रहेको थियो ।
बजारमा मागभन्दा उत्पादन बढी भएको भन्दै संघले गत मंसिर २९ देखि पुस ७ सम्ममा रू. १५ करोड बराबरको ३० लाख चल्ला र तयार भइसकेका अण्डा नष्ट गरेको थियो । त्यसैको प्रभावस्वरूप बजारमा कुखुराको अभाव भई मासुको मूल्य बढेको व्यवसायीहरुको भनाई रहेको छ ।
काठमाडौं उपत्यकामा दैनिक २ लाख र देशभर ५ लाख कुखुराको माग छ । चल्ला नष्टको प्रभाव अहिले देखिएको र चल्ला उत्पादन हुँदै जाँदा आगामी १ र २ महीनामा कुखुराको मासुको मूल्य घट्दै जाने नेपाल कुखुरा वितरक संघले जनाएको छ । तर कुखुरा व्यवसायीले सधैं घाटा बेहोर्नु परेकाले २ महीनाको अवधिमा करीब ३० प्रतिशतले चल्ला घटाएका छन् ।
उद्योगीले अन्डा तथा चल्ला नष्ट गरेर र काठमाडौंका ठूला कोल्डस्टोर सेन्टरहरूले कोल्ड स्टोरमा भण्डारण गरी बजारमा कुखुराको अभाव देखाउदै व्यवसायीले मासुको मूल्यमा अस्भाविक मूल्य वृद्धि गराएका छन् । बजारमा पसलपिच्छे व्यवसायीले अस्वाभाविक रुपमा मासुको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न गएको र बजारमा मासुमा अस्वभाविक मूल्य वृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ ।
मासुको मूल्य बढेसँगै अण्डाको माग भने बढ्न थालेको छ । अण्डा उत्पादक संघका अनुसार २ सातामा करीब ३० प्रतिशतले अण्डाको माग बढेको छ ।
यद्यपी बजारमा अहिले अण्डाको मुल्य पनि आकासिएको छ । बजार अनुगमन हुन नसक्दा व्यापारीले मनोमानी ढंगले मुल्य तोक्दै बिक्री वितरण गरिरहेका छन् । मासुको मुल्यसँगै अण्डाको मुल्य पनि ४ सय रुपैयाँ क्रेटसम्म उपभोक्ताले खरिद गरिरहेका छन् ।