कोरोना भाइरसः नेपाली अर्थतन्त्रलाई सँकटमा पार्ने त्रास

कोरोना भाइरसः नेपाली अर्थतन्त्रलाई सँकटमा पार्ने त्रास

२२ माघ, काठमाडौं ।
कोरोना भाइरसको सँक्रमणबाट अहिले सम्म नेपालमा कसैको ज्यान गएको छैन , न त सँक्रमण नै व्यापक बनेको छ । यसले गर्दा आत्तिइहाल्नुपर्ने अवस्था नआएपनि यसको प्रभावले गर्दा नेपालको अर्थतन्त्रलाई भने सँकटमा पार्ने भएको छ ।
कोरोना भाइरसकै प्रभावले गर्दाे भन्सार सिज भएको र चीनबाट आउने कृषिउपज बन्द भएपछि अहिले देशैभर महँगी बढेको छ । यसरी उत्तरी छिमेकमा फैलिएको महामारीले मुलुकको समग्र अर्थतन्त्रमै असर गरिरहेको छ । तत्कालको लागि प्याज, लसुन, स्याउ लगायतको मुल्य आकासिएसँगै निकट भविष्यमा अन्य सामानको मुल्य पनि बढ्ने प्राय निश्चित छ ।
सिजनल हरियो तरकारीको मूल्य घटिरहेका बेला लसुनको भाउ भने चुलिएको चुलियै छ । एक महिनाअघि दुई सय ४५ रुपैयाँ किलोको लसुनको भाउ ह्वात्तै बढेको छ । सरकारी तथ्यांकअनुसार पछिल्ला तीन सातामा लसुनको मूल्य १५४ प्रतिशत बढेर होलसेलमै किलोको ५६० रुपैयाँ पुगेको छ । पुस २९ मा प्रतिकिलो २२० रुपैयाँ (थोक मूल्य) मा कारोबार भएको लसुन माघ २१ गते बढेर ५६० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ ।
यसअघि खुद्रा बजारमा पाँच सय रुपैयाँ प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलमै आठ सय रुपैयाँ नाघेको औषधि व्यवसायी बताउँछन्। यी दुवै वस्तुको भाउ अकासिनुको एउटै कारण हो– चीनमा फैलिएको कोरोना भाइरस।
सरकारले चीनसँगको प्रमुख नाका रसुवा र तातोपानी नाका माघ १५ गतेदेखि २ साताको लागि बन्द गरेको छ ।यदि कोरोना भाइरस नियन्त्रणमा नआए यो नाका बन्द अझै लम्बिन सक्छ । त्यसैले नेपालमा महँगि अझै बढ्न सक्ने र त्यसले समग्र अर्थतन्त्रलाइ नै नकारात्मक असर सँभावना देखिन्छ । विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मूलतः पर्यटन उद्योगलाई धराशयी पार्ने धेरैको विश्लेषण छ ।
जनवरी २५ मा चिनियाँ नयाँ वर्ष मनाउन चीनको वुहानलगायत सहरमा गएका चिनियाँ व्यवसायी र ठेकेदार नेपाल फर्कन ढिलाइ भएको छ। जसका कारण कतिपय विकास निर्माणका काम प्रभावित भएका छन्। महामारीकै कारण चीनसँग सरकारी तथा निजी क्षेत्रको तहमा हुने द्विपक्षीय बैठक प्रभावित भएका छन ् ।
पछिल्लो समय भ्रमण वर्षलाई लक्ष्य गरेर होटेल र ट्राभल तथा उड्डयन क्षेत्रमा बैंकले पनि लगानी बढाएका छन्। गाडी किन्न होस् वा पुराना होटलको पुनः सञ्चालनका लागि जोखिम उठाउन पनि बैंक पछि परेका छैनन् । नेपालमा पनि कोरोना संक्रमण बढेको अवस्थामा यस्तो लगानी डुब्ने जोखिम बढी भएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा चिनियाँ पर्यटकको आगमन घटेर झन्डै १२ हजारको आसपासमा सीमित देखिएको छ, जबकि यो संख्या सन् २०१९ को जनवरीमा १३ हजार ६८७ रहेको थियो । भ्रमण वर्षको सफलताका लागि यो वर्ष चिनियाँ पर्यटकको आगमनमा हुने वृद्धिलाई महत्त्वपूर्ण मानिएको थियो । कोरोना भाइरसको संक्रमणले गर्दा मुख्य सिजन मानिने यो समय यसरी होटल बुकिङ रद्द हुन थालेपछि यसको असर आगामी वैशाख जेठसम्मै पर्ने होटेल एसोसियसन अफ नेपालले जनाएको छ । यसको सबैभन्दा ठूलो असर नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने स्पष्टै देखिएको छ ।