पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक शुरु भएको स्वस्थानी व्रतको आज समापन हुँदै
माघ २६, काठमाडौं ।
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन हुदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्छन् ।
त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्णहोस् भनी भगवतीलाई अर्घ दिदै यो व्रत समापन गरिन्छ ।
स्वस्थानी वर्त नेपाली महिलाले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन माघ पूर्णिमामा समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ ।
स्वस्थानी कथाका अध्यायले हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतीको घमण्ड, दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरै कुराहरुले ज्ञान अनि प्रेरणा दिएको हुन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
वैदिक सनातन हिन्दुजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति श्रद्धाकासाथ पूजा अर्चना गर्नले ब्रत कथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुनुका साथै अध्यात्मिक चेतनामा वृद्धि भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा छ ।
प्रतिकृया दिनुहोस्