April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

हरियो तरकारीमा विषै विषः किरा मार्न प्रयोग हुने विषादी सिधै भान्सामा

हरियो तरकारीमा विषै विषः किरा मार्न प्रयोग हुने विषादी सिधै भान्सामा

२६ माघ, २०७६, काठमाण्डौ ।
हाम्रो खानामा हरीयो तरकारीको प्रयोग त हामी सबैले गर्दै आइरहेकै छौ । यस्तो सबैको माग भएको उपभोग्य वस्तुको रुपमा परिचत रहेको तरकारीमा विषादी प्रयोग बढ्दो छ जुन स्वास्थ्यका लागि हानिकारक छ । पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ ।
किसानले छोटो समयमै धेरै लाभ लिनका लागि तरकारीमा अन्धाधुन्द विषादीको प्रयोग गर्ने हुँदा काँक्रो, गोलभेंडा, बन्दा, काउली, गाजर, मूला, फर्सि, घिरौंला लगायतका बेमौसमी तरकारीमा अत्याधिक विषादीका प्रयोग हुने गरेको छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् । केन्द्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारीमा यसरी सिधै विषादीको प्रयोग गर्ने परम्पराको विकास बढ्दो छ जसले मानव स्वास्थ्यमा गम्भिर असर पार्दछ ।
कालिमाटीस्थित विषादि अवशेष द्रुत विश्लेषण एकाइका अनुसार गोलभेंडामा सबैभन्दा बढी विषादिको प्रयोग हुने गरेको छ । काउलीका १० वटा नमूना पनि खान अयोग्य रहेको पुष्टी भएको छ । धेरै विषादि भेटिने तरकारीमा तेस्रो नम्बरमा आउँछ, आलु । गोलभेंडाजस्तै भान्छामा अधिक प्रयोग हुने तरकारी आलु हो । ती दुवै ‘रेड जोन’ मा पर्नुले उपभोक्ता कसरी विषाक्त तरकारी उपभोग गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । सिमी,लौका, काँक्रो, भेंडेखुर्सानीलगायत तरकारी पनि अस्वस्थकर पाइएका छन् ।

जथाभावी विषादीको प्रयोगले श्वासप्रश्वास सम्बन्धि रोग, महिलामा प्रजनन क्षमताको कमी जस्ता रोग लाग्ने हुँदा उपभोक्ताहरू सचेत हुनुपर्ने आजको आवश्यकता रहेको छ । विषादीयुक्त तरकारीको सिधै प्रयोगले मानव स्वास्थ्यमा क्यान्सरसमेत हुन सक्ने खतरा हुने चिकित्सकहरु बताउँछन् । बढ्दै गएको विषादीको प्रयोगलाई बेलैमा रोक्न नसके यसले उपभोक्तामा विभिन्न खालका रोगहरू निम्त्याउने निश्चित छ ।