April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रेमिट्यान्सको उत्पादनमुलक क्षेत्रमा लगानी न्यून

रेमिट्यान्सको उत्पादनमुलक क्षेत्रमा लगानी न्यून

२७ माघ, काठमाण्डौ ।
वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) उत्पादनमुलक क्षेत्रमा लगानी ज्यादै न्यून भएको पाइएको छ । राष्ट्र बैंकले जारी गरेको प्रतिवेदन अनुसार नेपाल भित्रिने कुल रेमिट्यान्सको एक प्रतिशत मात्र प्रत्यक्ष रूपमा उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छ ।
विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृत्तिलाई केन्द्रित गरी १६ जिल्लाका ३२० घरपरिवारलाई समेटेर स्थलगत सर्वेक्षण अध्ययन गरेर उक्त नतिजा प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । स्थलगत सर्वेक्षणमा विप्रेषण प्राप्त गर्ने घरपरिवारले प्राप्त आम्दानीको १.१ प्रतिशत मात्र व्यापार, व्यवसाय जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको पाइएको छ । प्रतिवेदन अनुसार कुल रेमिट्यान्सको २८ प्रतिशत बचत हुने गरेको छ । बचत रकम बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक लगानीको क्षेत्रमा उपयोग गर्ने भएकाले रेमिट्यान्समार्फत राष्ट्रिय पुँजी निर्माणमा योगदान पुगेको अध्ययनको निकर्ष छ । प्रतिवेदनले नेपाल भित्रिने रेमिट्यान्सको २५.३ प्रतिशत ऋण तिर्न र २३.९ प्रतिशत खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु खरिदमा उपयोग हुँदै आएको देखाएको छ ।
गत वर्ष वैदेशिक रोजगारिमा जानेले ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स पठाएका थिए । यसलाई आधार मान्दा गत आवमा ७ अर्ब ३२ करोड रुपैयाँ मात्र उत्पादनमुलक क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । गत वर्षको आप्रवाह भएको रेमिट्यान्सलाई आधार मान्दा १ खर्ब ८६ अर्ब ३६ करोड रुपैयाँ वचत भएको छ । उपभोग संस्कृति बढेपछि नेपालीको बचत दर घट्दै गएको छ । पछिल्लो समयमा नेपालीको बचत दर घटेर अहिले औसत ५.३ प्रतिशतमा समिति भएको छ । यस्तै उपभोग दर बढेर ९४.७ प्रतिशत पुगेको छ । एक जना नेपालीले १ सय रुपैयाँ आम्दानी गरेर औसत ९४ रुपैयाँ ७० पैसा वस्तु तथा सेवा उपभोगमा खर्च गर्छ र ५ रुपैयाँ ३० पैसा मात्र बचत गरेको पाइएको छ ।
रेमिट्यान्सले परिवारको आम्दानी वृद्धि गरी गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । नेपालमा गरिबी निवारणमा पनि रेमिट्यान्सको महत्त्वपूर्ण योगदान छ ।
जति खाडी मुलुकमा गएका छन् त्यो भन्दा कम छैनन् भारतमा रोजगारीका लागि जाने । तर खुला सीमाना भएका कारणले सरकारले रेकर्ड राख्न नै अल्छी गरेको छ । जसका कारण भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक अहिले पनि पाउन मुश्किल पर्छ । व्यापार सम्वन्ध र खुला सीमानाका कारण भारतबाट अनौपचारिक माध्यमद्वारा समेत विप्रेषणको रुपमा रकम भित्रिने अवस्थालाई मध्यनजर गरी नेपाल राष्ट्र बैंकले विप्रेषणको तथ्याङ्क तयार गर्दा भारतवाट अनौपचारिक माध्यम मार्फत प्राप्त हुने विप्रेषणको समेत आँकलन गर्ने गर्दछ । नेपाल राष्टले हालै सार्वजनिक गरेको नयाँ रिपोर्टले सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिएको देखाएको छ । कतार पछि दोस्रो स्थानमा भने भारत देखिएको छ ।