May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पाँच स्थानीय तह आद्यौगिक क्षेत्र बन्दै

पाँच स्थानीय तह आद्यौगिक क्षेत्र बन्दै

२७ माघ, काठमाण्डौ ।
नेपालमा विगत दुई दशकयतादेखि उत्पन्न राजनीतिक अस्थिरतासँगै देशमा रहेका उद्योगधन्दाहरू झन्डै धराशायी हुने अवस्थामा पुगेका थिए । यो जर्जर अवस्थामा पनि नेपालको औद्योगिक क्षेत्रमा नयाँ उद्योगहरू थपिँदै गरेको तथ्याङ्क बाहिर आएपछि भने यसले सबैको ध्यान त्यतैतिर खिचेको छ ।सरकारले अब पाँचवटा स्थानिय तहमा थप औद्योगिक क्षेत्र बनाउने घोषणा गरेसँगै यसले अझ सबैको ध्यान तानेको छ । सरकारले गण्डकी प्रदेशमा दुईवटा, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा औद्योगिक ग्राम बनाउन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार डोटीको जोटायल गाउँपालिका २, बझाङको तलकोट गाउँपालिका ६, ओखलढुंगाको मोलुङ गाउँपालिका ६, स्याङ्जाको चापाकोट नगरपालिका ९ र स्याङ्जाकै गल्याङ नगरपालिका १ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरिएको हो ।
सरकारले यसअघि प्रदेश १ मा १, प्रदेश २ मा ३, बाग्मती प्रदेशमा ५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा २ र प्रदेश ७ मा ३ औद्योगिक ग्राम घोषणा गरिसकेको छ।
स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको प्रयोग गरी उत्पादन बढाउन औद्योगिक ग्राम बनाउन लागिएको मन्त्रालयका अधिकारी बताउँछन्। स्थानीयस्तरमै रोजगारी र उत्पादन बढाउने उद्देश्यले सरकारले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्न लागेको हो ।
गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९० वटा थप नयाँ उद्योगहरू दर्ता भएका छन् । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उद्योगहरू खासै दर्ता नभए पनि त्यसअघि नै अनुमति लिएकाहरूको संख्या उल्लेख्य रहेकाले समग्रमा सो समयमा धेरै उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । अनुमति लिएर नयाँ दर्ता गरेका उद्योगहरूमध्ये धेरैजसो हाइड्रोपावर, पर्यटन, सिमेन्ट र कृषिसँग सम्बन्धित रहेका छन् ।
गएको पाँच वर्षयता पर्यटन क्षेत्रमा ४ सय ४०, सेवामुलक क्षेत्रमा ५ सय १५, उत्पादनमूलक ४ सय २७, ऊर्जासँग सम्बन्धित १ सय ९४, कृषि तथा वनसँग सम्बन्धित १ सय ८३ तथा खनिज र अन्य निर्माणमा ४० वटा उद्योगहरू दर्ता भएका छन् । यी तथ्याङ्कहरू हेर्दा नेपालमा नयाँ उद्योग खुल्ने क्रम अझ बढ्दै जाने देखिन्छ । नेपालमा उत्पन्न राजनीतिक अवस्थामा अहिले केही सुधार आएको छ । यतिबेला देशमा बहुमतको सरकार बनेको छ । यससँगै लगानीकर्ताहरू पनि उद्योगमा लगानी गर्न अझ आकर्षित हुन सक्ने देखिएको छ ।