ऐतिहासीक कोतघरः गलकोट दरवार संरक्षणको पर्खाइमा

ऐतिहासीक कोतघरः गलकोट दरवार संरक्षणको पर्खाइमा

२ फागुन, २०७६, काठमाण्डौ ।
तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । त्यस्तो ऐतिहासिक गलकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत मल्ल राजा भएका थिए। गलकोट राज्य विशाल नेपालमा विलय भएपछि सत्ताच्यूत भएका राजा जगत मल्लले तत्कालीन नेपाल सरकारसँग अनुनय विनय गरी फिर्ता पाएको जग्गा अहिले पनि मल्ल परिवारकै नाममा छ ।

हाल बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं ५ मा रहेको उक्त दरबारमा माधवबम र उनको परिवार बस्दै आएका थिए। विसं २०५९ वैशाख ३१ गते राति पौने ८ बजे माओवादी पक्षबाट माधवबमको दरबार प्राङ्गणमा हत्या भएपछि उनको परिवार विस्थापित भएको थियो। परिवार विस्थापित भएपछि दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।
तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएका छन् । कोतघर पनि पहिले झिँगटीको थियो । विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो । कोतघरका झ्याल, ढोका भने अझै पुरानै छन् । कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति, शिला आदि छन् । मन्दिरमा अहिले पनि हरेक वडादशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । चैत्राष्टमीमा त कोतघरमा मेला नै लाग्छ ।

यस्तो ऐतिहासिक गलकोट दरबारको बारेमा बुझ्न तथा अध्ययन अनुसन्धान गर्न आजपनि कैयौँ आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ गलकोट दरबारमा । यस्तो पर्यटकको रोजाइमा पर्दै गएको गलकोटको संरक्षणमा ध्यान कैले जाला खै?