धमाधम राजीनामा दिंदै सैनिक अधिकारी, ६ महिनामै ४९ जना उच्च सैनिक अधिकारीले छाडे जागिर

धमाधम राजीनामा दिंदै सैनिक अधिकारी, ६ महिनामै ४९ जना उच्च सैनिक अधिकारीले छाडे जागिर

नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन्। रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन्। प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केही समयअघि मात्र राजीनामा दिएका थिए। यस्तै, केही महासेनानीसहित अन्य अधिकृत तहका अधिकारीहरूले राजीनामासमेत गरेका छन्।

तथ्यांकअनुसार साउनमा ४, भदौ र असोजमा १।१, कात्तिकमा १७, मंसिरमा १६, पुसमा १० जना सेनाका उच्च अधिकारीहरूले राजीनामा दिएका हुन्। अधिकतरले घरायसी कामलाई राजीनामा दिनुको कारण उल्लेख गरेका छन्। तर स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेका हुन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएकाले र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरूबाट राजीनामा आएको दाबी गरे। ‘संयुक्त राष्ट्रसंघलगायत अन्य संस्थाहरूबाट अवकाश पाएको भनेपछि जागिर पाइँदैन। राजीनामा दिएको भनेपछि भने जागिर पाउने सम्भावना हुन्छ,’ उनले भने।

सेनाका अधिकृतस्तरका उच्च अधिकारीहरूले राजीनामा दिँदै हिँड्न थालेपछि नेतृत्वप्रति प्रश्न उठ्ने सेनाका एक अधिकारीले बताए। संगठन छाड्ने उच्च अधिकारीहरूले २०७४ भदौ २४ बाट थापाले नेतृत्व गरेसँगै चेन अफ कमान्डमा समस्या भएको अरोप लगाएका छन्। प्रधानसेनापति थापाले प्राविधिकतर्फका उच्च अधिकारीहरूलाई विश्वास नगरेको, नातावाद–कृपावादलाई निरन्तरता दिएको र संगठनको कामभन्दा पनि मिडियामा प्रचार गर्न केन्द्रित गरेको गुनासो बढेको छ।

थापाले प्राविधिकतर्फको उच्च पदमा पुग्ने उपरथीको काम हेर्न इन्फेन्ट्रीतर्फका महासेनानी खटाएका छन्। जंगीअड्डाको केही समयअघि भएको एक बैठकमा एक प्राविधिक उपरथीले प्रधानसेनापति थापालाई प्राविधिकहरूलाई संगठनभित्र हेप्दै गए काम गर्न नसकिने बताएका थिए। ती अधिकारीले संगठनमा काम गर्ने वातावरण नभएको उल्लेख गरेका थिए।

थापाले प्रधानसेनापति भएलगत्तै काठमाडौं–तराई द्रुतमार्गमा व्यापक भ्रष्टाचार भएको आशंकामा छानबिनसमेत गरेका थिए। उनले आन्तरिक रूपमा छानबिनसमेत गरे तर अन्त्यमा भ्रष्टाचार नभएको निचोड सेनाले निकालेको थियो। थापाले संगठनभित्रका अधिकांश काममा प्राविधिकका उच्च तहका पदाधिकारीहरूलाई भन्दा इन्फेन्ट्रीतर्फका तल्लो तहका पदाधिकारीहरूलाई नै जिम्मेवारी दिए। त्यसैले सेनाभित्रका अधिकांश प्राविधिक जनशक्ति प्रधानसेनापति थापाको कार्यशैलीदेखि असन्तुष्ट छ। यसले संगठनभित्र प्राविधिक सैनिक र इन्फेन्ट्रीबीच द्वन्द्व सुरु भएको स्रोतको भनाइ छ।

प्रधानसेनापति थापाले ल्याएको ‘प्रधानसेनापतिसँग सिधा कुरा’ ले गण, गुल्म, बटालियनहरूमा नेतृत्व गर्न जानेको कमी भएको छ। ‘हाम्रो संगठन चेन अफ कमान्डमा चल्ने हो तर प्रधानसेनापति थापाले सिधै सिपाहीहरूसँग कुरा गर्न थालेपछि ती सिपाहीले गणपति, गुल्मपतिलाई नै मान्न छाडेका छन्,’ सैनिक स्रोतले भन्यो। थापाले बिनाकानुन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर नाटक गरेको पनि सैनिक अधिकारीहरूको भनाइ छ। थापाले संगठनभन्दा पनि आफूलाई बढी महत्त्व दिएको भन्दै महासेनानीहरूको घर–घरमा जर्नेलहरू भेला भएर चिन्ता व्यक्त गरेका छन्।

थापाले संगठनको प्रक्रियाभन्दा पनि आफ्ना मान्छेलाई च्यापेर छड्के हान्न थालेपछि काम गर्ने वातावरण नभएको इन्फेन्ट्रीभित्रका जर्नेलहरूले पनि दुःखेसो व्यक्त गरेका छन्। सबैलाई समान रूपमा व्यवहार गर्ने बताउँदै आए पनि उनले सैनिक सचिवबाट उही स्तरका अधिकृतहरूको फरक–फरक समयमा बढुवा गर्ने र उही क्षमता भएका कोहीलाई माथि लाने र कसैलाई तलै छाडिदिने गरेको आरोप छ। ‘प्रधानसेनापतिले यसैगरी संगठनलाई अघि बढाउने हो भने अझै धेरै उच्च सैनिक अधिकारीहरूले राजीनामा दिने पक्का छ,’ सैनिक स्रोतले भन्यो। कान्तिपुर दैनिकबाट