विकास आयोजना र ठेक्कामा भद्रगोल अवस्था

विकास आयोजना र ठेक्कामा भद्रगोल अवस्था

०४ फागुन, काठमाण्डौ ।
पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा नेपालको विकासका आयोजनामा भद्रगोल अवस्था आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा रुग्ण ठेक्काको अध्ययन–विश्लेषण गर्दा विकास आयोजनाको ठेक्का व्यवस्थापन भद्रगोल बन्न पुगेको निष्कर्ष आएको हो ।
नेपाल सरकारद्वारा सञ्चालन भएका रुग्ण ठेक्काहरुको अध्ययन गरेको अख्तियारले सम्झौता मिति सकिएर पनि निर्माण सम्पन्न नभएका आयोजनाहरुको संख्या साढे ११ सय बढी रहेको जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार हाल सञ्चालनमा रहेका १ हजार ८ सय ४८ वटा ठेक्का सम्झौतामध्ये १ हजार ३२ वटा ठेक्का अन्योलपूर्ण अवस्थामा छन् । अख्तियारका अनुसार २०७६ मंसिर मसान्तसम्म ठेक्का सम्झौता हुन नसकेका योजनाहरूमध्ये सडक विभागतर्फ ७१०, सहरी विकास तथा भवन निर्माण विभागतर्फ २९३, जलस्रोत तथा सिँचाइ विभागतर्फ १३०, नेपाल विद्युत् प्राधिकरणतर्फ ४३, नागरिक उड्डयन प्राधिकरणतर्फ ७, नेपाल टेलिकमतर्फ ४, स्थानीय पूर्वाधार कार्यक्रमतर्फ २३ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ १ योजना छन् ।
उक्त प्रतिवेदन अनुसार २०७५ मंसिरसम्म कुल ११८.०१ अर्ब बराबरका जम्मा १ हजार ८ सय ४८ ठेक्काहरु सम्झौता बमोजिमको समयभित्र सम्पन्न हुन नसकी रुग्ण देखिएका थिए। तीमध्ये १ हजार ३२ ठेक्काको विभिन्न मितिमा सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएकोमा म्याद थप सम्बन्धी निर्णयसमेत भएको अवस्था देखिएको थिएन।
ठेक्का व्यवस्थापनमा संलग्न कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेे टड्कारो आवश्यकता रहेको औँल्याउदै प्रतिवेदनले अनी मात्र समृद्घ नेपाल तथा सुखी नेपाली हुनसक्ने जनाएको छ ।