June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरिया सरकारले सय जना नेपाली कामदारलाई फिर्ता गर्नुको कारण यस्तो

कोरिया सरकारले सय जना नेपाली कामदारलाई फिर्ता गर्नुको कारण यस्तो

०५ फागुन, काठमाण्डौ ।
सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले त्यसबखत र पहिले चरम भोकमरीको सामना गर्नुपरेको थियो। उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्कारिक विकास गरेसँगै कोरिया नेपालको आकर्षक रोजगार गन्तव्य रहदै आएको छ ।
हाल आएर दक्षिण कोरियाले नक्कली परीक्षार्थीमार्फत इपिएस भाषा परीक्षा उत्तीर्ण गरी कोरिया पुगेका नेपाली कामदारलाई स्वदेश पठाउने भएको छ । करिया सरकारले भाषा परीक्षा अन्य व्यक्तिलाई लेख्न लगाई कोरिया पुगेका १०० जनाभन्दा बढी नेपालीलाई स्वदेश फिर्ता पठाउने भएको हो ।
अन्य व्यक्तिको माध्यमबाट इपिएस भाषा परीक्षा उत्तीर्ण गरी कोरिया पुगेको सूचनाका आधारमा कोरिया अध्यागमन कार्यालयले एक जनालाई पक्राउ गरेपछि त्यसैको आधारमा कोरिया सरकारले अनुसन्धान गर्दा सय जनाभन्दा बढी नक्कली परीक्षार्थीमार्फत इपिएस भाषा परीक्षा उत्तीर्ण गरेको भेटिएपछि उनीहरूलाई स्वदेश फिर्ता गर्न लागेको अध्यागमन कार्यालयले जनाएको छ ।
कोरियास्थित प्रवासी श्रमिक संगठनले जनाए अनुसार पक्राउ परी नेपाल फिर्ता हुनेहरूमा कोरिया गई ३ महिनादेखि साढे ३ वर्षसम्म बसेका रहेका र अधिकांश ताप्लेजुङ, पाँचथर, म्याग्दीलगायत जिल्लाबाट जाने नेपाली कामदारहरू रहेका छन् ।
अरुलाई परीक्षा लेखाई कोरिया पुगेका नेपालीलाई सोझै नेपाल फिर्ता गर्ने र अरुको परीक्षा सहभागी हुनेहरूलाई भने विभिन्न सुरक्षा सम्बन्धी मुद्दा चलाई अनुसन्धान अगाडि बढाइएको अध्यागमन कार्यालयले जनाएको छ ।