June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपालको वैदेशिक रोजगार किन बन्दैछ ज्यानमारा ?

नेपालको वैदेशिक रोजगार किन बन्दैछ ज्यानमारा ?

०६ फागुन, काठमाण्डौ ।
नेपालको वैदेशिक रोजगारको इतिहास हेर्ने हो भने अरनिको नेपाली कला संस्कृती अनुसारको संरचना निर्माण गर्न चीन गएको समयलाई नै आधार मान्न सकिन्छ । त्यसपछिका समयलाई नियाल्दा, प्रथम विश्व युद्ध, द्धितिय विश्वयुद्धका समयमा नेपालीहरु गोर्खा सैनिकमा भर्ती भई रोजगारी गरेको इतिहास छ । वैदेशिक रोजगारको विकासक्रम त्यस पछि मात्र ऐतिहासिक र विधिवत रुपमा सुरु भएको पाईन्छ ।
आर्थिक वर्ष २०५० र ०५१ देखि मात्रै अन्तिम श्रम स्वीकृतिलाई आधार मानेर वैदेशिक रोजगार विभागले विदेशिएका नेपालीबारे तथ्यांक राख्न थालेको हो । सोही राखेको सरकारी तथ्यांकले बितेका २७ वर्षमा श्रम स्वीकृति लिएर विदेशिने नेपालीको संख्या ६३ लाख रहेको देखाउँछ । २७ वर्षअघि कति नेपाली विदेशिए त ? यो प्रश्नको चाहिँ जवाफ कसैसँग छैन ।
वैदेशिक रोजगारका लागि विदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्ड बताउँछ । यी मुलुकमा जाने अधिकांश जनशक्ति अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको बोर्ड बताउँछ ।
सरकारले तथ्यांक संकलन सुरु गरेको पहिलो आर्थिक वर्ष २०५०र५१ सालमा ४ हजार ५ सय ५२ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । त्यो बेलादेखि चालू आर्थिक वर्ष २०७६र७७ को पुस मसान्तसम्म ६३ लाख नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यसरी विदेशिएका अधिकांश श्रमिक अदक्ष (काम नजानेका) रहेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे २०७४र०७५ को आर्थिक सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने करिब ७४ प्रतिशत कामदार अदक्ष रहेको देखाएको छ।
पछिल्लो समय विदेश गएकाहरुमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा मलेसिया तथा खाडी मुलुकमा काम गर्न गएका नेपाली युवाहरु छन् । चालू आर्थिक वर्ष (२०७६र७७) को छ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका चार सय ३० जना युवाहरुको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । चार सय १८ जना पुरुष र १२ जना महिलाको गरी चार सय ३० जनाको यो अवधिमा मृत्यु भएको छ । मलेसियामा मात्र एक सय १८ जना युवाहरुको मृत्यु भएको छ । मलेसियाको विभिन्न शहरमा रहेका युवाहरुको मृत्यु भएको हो । गत १२ फेब्रुअरी बुधबार २०२० का दिन कुवेतको अल मुत्ला क्षेत्रमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमै ६ जना नेपालीले ज्यान गुमाए ।

सोही समयमा साउदी अरेबियामा ९४ पुरुष र दुई महिला गरी ९६ जना, कतारमा ७४ जना पुरुष, युएईमा ६२ पुरुष र तीन महिला गरी ६५ जना, कुवेतमा २२ पुरुष र दुई महिला गरी २४ जना युवाहरुको मृत्यु भएको छ भने विदेशबाट स्वदेश फर्किएका युवाहरुको समेत नेपालमा मृत्यु भएको बोर्डले जनाएको छ । छ महिनाको अवधिमा स्वदेश फर्किएका २२ जना पुरुषको नेपालमा मृत्यु भएको छ ।
बोर्डले जनाए अनुसार वैदेशिक रोजगारीको क्रममा विकसित मुलुक जापान, युरोपियन मुलुक पोर्चुगल, पोल्याण्ड, टर्की, खाडी मुलुक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, इजरायल, मलेसिया तथा स्वयं विदेशबाट घर आएका युवाहरुको नेपालमा समेत मृत्यु हुने गरेकोे छ ।
नेपालले अहिले १ सय ७२ मुलुकसँग श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा कामदार पठाइरहेको छ । नेपाल सरकारले खुला गरेको देशमा श्रम स्वीकृति लिएर करार अवधिभर अंगभंग या मृत्यु भएमा पीडित परिवारलाई ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था वैदेशिक रोजगार बोर्डले गरेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका सन्तानलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा र परिवारका सदस्य बिरामी भएमा औषधि उपचारमा ५० हजारसम्म सहुलियतको व्यवस्था छ । तर यतिले मात्रै रोजगारीमा जाने श्रमिकहरूप्रतिको बोर्डको जिम्मेवारी पूरा हुँदैन ।
नेपालमा धेरै लामो समय सम्म अस्थिर सरकारहरु रहेको र उक्त सरकारका नेतृत्व कर्ताहरुको समय अवधी पनि अल्पकालिन हुने र निजहरुको कार्यशैली पनि आफु सत्तामा रहुन्जेल अल्पकालिन समयमा के काम गर्ने भन्ने मात्र मानसिकताको उपज पनि हो हालको वैदेशिक रोजगारको अवस्था ।
वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउदै लैजानु अहिलेको टड्कारो आवश्यकता रहेको छ । नेपाली युवाहरु भाषा, सिप, तथा अन्य दक्षताका ज्ञानहरु सिक्नु भन्दा पनि नेपाली भुमि छोडेर जति सक्दो चाँडो बिदेशी भुमिमा जाने र उक्त मुलुकमा पुगे पछि सोही विषयहरुको अभावको कारणले दुःख झेल्नु परेको छ । त्यसैले विदेश जान चाहनेहरु स्वंय विदेशी भूमिबारे सुसूचित हुनैपर्छ । उनीहरू काम गर्ने वातावरणबारे जानकार हुनुपर्छ । यस्तै, विदेश जाने युवाहरुले आफू जाने मुलुकको कानुन, संस्कृति, भौगोलिक, वातावरणलगायतको विषयमा जानकारी राखेर जाँदा उचित हुन्छ । सरकारले पनि आर्थिक सहायता प्रदान गर्नुभन्दा पनि मृत्युलाई नै रोक्नतर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता हो । विदेश गएका युवाहरुले काम गर्ने स्थान, सुरक्षाको प्रतिबद्धता, स्वास्थ्य, शारीरिक तथा मानसिक अवस्थाको प्रतिबद्धता, सेवा सुविधाको विषयमा ग्यारेन्टी दिन सक्नुपर्छ ।