June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रंगशाला बनाउन १४ रोपनी जग्गा दान दिने यी व्यक्ती

रंगशाला बनाउन १४ रोपनी जग्गा दान दिने यी व्यक्ती

०६ फागुन, काठमाण्डौ ।

मनिस एक यस्तो प्राणी हो जसलाई जति धन सम्पति कमाएपनि कमि नै भएको महशुस भइरहन्छ । जसले गर्दा ऊ जहिले पनि लोभको बन्धनमा परि बढी भन्दा बढी सम्पति कमाउने होडबाजिमा दौडिरहेको हुन्छ । तर समाजमा यस्ता समाजसेवी व्यक्तिहरु पनि छन् जसले दश बर्ष अघि छोडेको गाउँमा रंगशाला बनाउनको लागि आफ्नो जग्गा दान गरेका छन् ।
सन्दकपुर गाउँपालिका ५ जमुनाका समाजसेवी तोयनाथ भट्टराईले दश बर्ष अघि आफ्नो गाउँ छाडी बसाई सरेर गएका थिए । तर गाउँ छाडी गएपनि उनले आफ्नो गाउँलाई भुल्न सकेनन् । त्यसैले भट्टराईले करिब ५६ लाख रुपैयाँ मूल्य पर्ने १४ रोपनी जग्गा आफ्नो आमाबाबुको नाममा गाउँमा रंगशाला बनाउन दान गरेका छन् ।
८५ बर्षीय भट्टराईले गाउँकै पे्ररणाले आफुलाई अहिलेको अवस्थामा ल्याएको हुनाले गाउँले लगाएको गुनलाई भुल्न नसकि बाबु गजाधर र आमा धनमायाको नाममा जग्गा दिएको उल्लेख गरेका छन् । स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यमा भव्य रंगशाला निर्माण गरिने उक्त जग्गामा अहिले जिल्लाकै भव्य रंगशाला निर्माणको तयारी भइरहेको छ ।
अहिले गाउँलेहरूले गच्छेअनुसारको सहयोग उठाएर भट्टराईसँगै थप १० रोपनी जग्गा खरिद गरेका छन् । धनमाया रंगशाला २४ रोपनी क्षेत्रफलमा फैलने छ । जमुना गाउँको बीच भागमा पर्ने प्रस्तावित रंगशाला सदरमुकामबाट २२ किलोमिटर टाढा छ ।
उनले यसअघि जिल्लाकै ठूलो ढाप पोखरीका लागि समेत करिब पाँच रोपनी जग्गा दान गरेका थिए ।
गाउँ नबनेसम्म देश बन्न नसक्ने भनाई राख्ने भट्टराईले २०१९ देखि २०२६ सालसम्म प्रधानपञ्च भएर पनि गाउँको सेवा गरेका थिए ।