June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गगनको सांसदमा स्वस्थानी बाचनः गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु–विष्णु भन्नू

गगनको सांसदमा स्वस्थानी बाचनः गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु–विष्णु भन्नू

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखलाई सम्बोेधन गर्दै स्वस्थानी व्रतकथा वाचन गरेपछि सदनमा सन्नाटा छाएको छ ।
सांसद थापाले मंगलबार सदनको बैठकमा भने स्वस्थानी व्रतकथा वाचन शैलीबाट सत्ता पक्ष अख्तियारलाई दह्रो ब्याङग गरेपछि सदनमा सन्नाटा छाएको हो । उनले एक मिनेटको अभिव्यक्तिमा बालुवाटार जग्गा प्रकरणको विषयमा सार्वजनिक भएको पछिल्ले परिदृश्यलाई प्रतिनिधित्व गरेका थिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शून्य समयमा बोल्न समय दिएपछि थापाले आफ्नो भनाइ राखेका थिए । थापाको अभिव्यक्तिको लक्ष्य के होला भनेर शान्तभावमा उनको आवाज सांसदहरूले सुन्दा सदनमा एक प्रकारको सन्नाटा नै छाएको थियो ।
अभिव्यक्ति शैलीलाई फरकफरक ढंगले प्रस्तुत गर्ने थापाले सभामुखलाई सम्बोधनपछि आफ्ना विचार स्वस्थानी कथा वाचन शैलीमै सुरु र अन्त्य गरे ।

गगनले भनेका कुरा जस्ताको तस्तै
माननीय सभामुख महोदय,

कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि । अब उप्रान्त कसैको चोरीको सामान किन्दा मुलुकलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन, होइन भन्नू ।

चित्त बुझ्न नसकेर अप्ठ्यारोमा पर्ने स्थिति आएमा हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णुविष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएन भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु–विष्णु भन्नू ।

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।

इतिश्री अख्तियार पुराणे कुमारविष्णु संवादे श्रीस्वस्थानी व्रत कथाए बालुवाटार प्रकरण वर्णनाम प्रथमोध्याय, धन्यवाद !