प्रजातन्त्र शब्दमा होइन, कर्ममा देखिनुपर्छः पूर्व राजा ज्ञानेन्द्र शाह

प्रजातन्त्र शब्दमा होइन, कर्ममा देखिनुपर्छः पूर्व राजा ज्ञानेन्द्र शाह

फागुन ०७, काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा होइन, कर्ममा देखिनुपर्ने पनि बताएका छन् । पूर्व राजा शाहले ७० औं प्रजातन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने र त्यो शव्दमा होइन कर्ममा देखिनुपर्ने बताएका हुन् ।
‘केही टाठाबाटाका निमित्त होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ’, शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो’, पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने बताएका छन् । ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्व्हितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले भनेका छन् ।
शाहले आफू देशविदेशका भ्रमणमा जाने क्रममा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको पनि उल्लेख गरेका छन्। ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।