May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

चल्लामा कालोबजारी, के गर्दैछ सरकार?

चल्लामा कालोबजारी,  के गर्दैछ सरकार?

०७ फागुन, काठमाडौं ।
ह्याचरी उद्योग संघले चल्ला र मासुको मूल्यवृद्धि गरी अत्यधिक लाभ लिन गत मंसिर २९ देखि पुस ८ गतेसम्म साताव्यापी ‘चिक्स होलिडे’ गरेको थियो । त्यसताका ह्याचरी उद्योगहरुले चल्ला र चल्ला कोरल्ने अण्डा नष्ट गर्ने अभियान नै चलाएका थिए । जसअन्तर्गत १५ करोड मूल्यबराबरका ३० लाख जिउँदो चल्ला र ४५ करोड मूल्यको चल्ला निस्कने अण्डा नष्ट गरिएको थियो ।
सिन्डिकेट लागू गरी सातामै चल्ला र दानामा कृत्रिम मूल्य वृद्धि गरी १२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको हो ।
ह्याचरी उद्योग संघले गत ११ माघदेखि १८ गते सम्म तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाएको छ । माघ १८ गते ब्रोइलरतर्फको प्रतिगोटा चल्लाको मूल्य ७० रुपैयाँ तोकेको छ । कुखुरापालक किसानले प्रतिगोटा ७५ रुपैयाँमा खरिद गरिरहेका छन् । माघ १० मा संघले चल्लाको मूल्य ४० रुपैयाँ तोकेको थियो ।
संघमा आबद्ध तीन सय आठ ह्याचरी उद्योगबाट एक सातामा ३५ लाख चल्ला उत्पादन हुन्छ । यसलाई ४० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड रुपैयाँ आम्दानी हुन्छ । तर संघले सिन्डिकेट कायम गरी ७५ रुपैयाँ मूल्य तोकेर किसानबाट एक सातामा सवा १२ करोड रुपैयाँ असुल गरेको राष्ट्रिय कुखुरा पालक संघर्ष समितिको आरोप छ ।
राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा बढाइएको कृत्रिम मूल्य फिर्ता गर्न माग गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई मूल्य घटाउन ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्रमा दिन प्रतिदिन विचौलियाको चलखेलका कारण कुखुरा पालन व्यवसाय तथा किसानहरु मारमा परेको बताइएको छ । उनीहरुले आफूहरू अन्यायमा परेको अवस्थामा सरकार चुप बस्दा पेशा छोड्ने अवस्थामा पुगेको बताएका छन् ।

राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले सरकारलाई गत माघ २० गते नै कालोजारीलाई कारवाही गर्न माग गर्दै लिखित निवेदन दियो तर सरकारले अहिलेसम्म कारवाही गर्ने सुर नै गरेको छैन । त्यसैले कृषकहरूले ठूला उद्योगी र व्यवसायीसँग सरकार नै मिलेर विना कारण चल्लाको मूल्य बढाउनेमाथि सरकारले कारबाही नगरीका कानमा तेल हालेर बसेको निश्कर्ष निकालेका छन् ।