June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

काठमाडौं – महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छन् । साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएका थिए ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेका थिए । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ । महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् ।

यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् । करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् ।पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ ।