May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन् । यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति जेनेभा प्रस्थान गरेका हुन् । बालअधिकारसम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने छन् ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता पनि गर्ने छन् ।मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्किने छ ।