April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

महाशिवरात्रीमा सात लाखभन्दा बढी भक्तजनद्वारा पशुपतिनाथको दर्शन

महाशिवरात्रीमा सात लाखभन्दा बढी भक्तजनद्वारा पशुपतिनाथको दर्शन

प्रत्येक वर्षको  फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि मनाउने गरिन्छ । यस पर्वका दिन उपवास बसी ‘ओम नम शिवाय’ मन्त्र जपे सर्वसिद्धि भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजनको उल्लेख्य भीड छ । देशका विभिन्न भागका साथै विदेशबाट समेत भक्तजन आएका छन् । महाशिवरात्रीका दिन शिवको पूजा, आराधना, दर्शन गरे यसलोकमा सुख र शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने विश्वास छ । त्यहि विश्वासमा पशुपति लगायत शिव मन्दीरमा भक्तजनको भीड लागेको हो । भक्तजनको सजिलोका लागि पशुपतिका चार वटै ढोका बिहान तीन बजेदेखि खोलिएको थियो ।  मन्दीर वाहिर पाँच वटा तथा भित्र १० वटा लाइन व्यवस्था गरिएको थियो । यसपटक सरकारले भ्रमण वर्ष मनाइरहेकाले पशुपति क्षेत्रलाई फूलले विशेष रुपमा सिँगारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपतिनाथमा पूजा अर्चना गरेकी छन् ।

दर्शनका लागि पशुपतिमा अहिले पनि भक्तजनको भीड छ । पशुपति क्षेत्र विकास कोषले  ७ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेको बताएको छ । पशुपतिमा नागाबाबा बसेका क्षेत्रमा  खासगरी युवाहरुको भीड लाग्यो । महाशिवरात्री मनाउन आएका साधु सन्त र नागाबाबालाई कोषले निःशुल्क आवास, भोजन र धुनी बाल्ने व्यवस्था मिलाएको छ । अहिले पशुपति क्षेत्रमा नागाबाबा बसेका स्थानमा धुनीमा रमाउनेको भीड छ ।  कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये निकै पवित्र अवसरका रुपमा शिवरात्रिलाई पुराणमा वर्णन गरिएको छ ।