आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकको नाफा घट्यो

आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकको नाफा घट्यो

फागुन ११, काठमाडौं ।
यस आर्थिक वर्ष शुरु भएदेखि नियामक निकायले विभिन्न क्षेत्रमा गरेको कडाईका कारण नाफा वृद्धि प्रभावित भएको छ । वाणिज्य बैंकहरुको नाफा वृद्धिदर चार वर्ष यताकै न्युन देखिएको छ । बैंकहरुले आर्थिक वर्षको पहिलो ६ महिनामा कमाएको नाफा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा वृद्धिदर सबैभन्दा कम देखिएको हो ।
चालु आर्थिक बर्षको प्रारम्भमै बैंक वित्तीय संस्थाको ऋणमा कडाइ गरिएको थियो । बैंक तथा वित्तीय संस्थामा बुझाउने कागज पत्र र कर कार्यलयमा बुझाउने वासलात एउटै हुनु पर्ने नियम केन्द्रिय बैंकले अघि सारेको थियो । जसले ठुला ऋण प्रवाह प्रभावित भएको थियो भने पछिल्लो समय मझौला ऋणिलाई समेत कर चुक्ता प्रमाणपत्रको आधारमा मात्रै ऋण लिन पाइने व्यवस्था आएपछि बैकिङ कारोबार थप सुस्ताएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले कुल ३३ अर्ब २० करोड खुद नाफा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७४ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा उनीहरुको नाफा २४ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनामा यिनै बैंकहरुको खुद नाफा ३३.९२ प्रतिशत बढेको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७४÷७५ सोही अवधिसम्ममा बैंकहरुको खुद नाफा वृद्धिदर १०.४० प्रतिशत र आर्थिक वर्ष २०७३÷७४ को पुस मसान्तसम्ममा ४३.७० प्रतिशत रहेका थियो । बैंकिङ्ग क्षेत्रमा भएको तिव्र प्रतिस्पर्धा र खर्च बढेका कारण बैंकहरुको खुद नाफा वृद्धिदर घट्न पुगेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ बैंकहरुको खुद नाफा बढेको छ भने बाँकी बैंकहरुको खुद नाफा घटेको छ । समीक्षा अवधिमा एनएमबि बैंकको खुद नाफा वृद्धिदर अन्य बैंकहरुको तुलनामा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सो बैंकको खुद नाफा ४७.४० प्रतिशत बढेको हो ।
सबैभन्दा कम नाफा वृद्धिदर नेपाल बङ्गलादेश बैंकको रहेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा १.८२ प्रतिशत मात्र बढेको छ । पछिल्लो ४ आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको औषत खुद नाफा वृद्धिदर बैंकहरुको तुलनामा बढी रहेको छ । यस बैंकको चार आर्थिक वर्षको पहिलो ६ महिनाको खुद नाफा वृद्धिदर ९९.८२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तमा बैंकको नाफा ३५६.७४ प्रतिशत बढेका कारण औषत खुद नाफा बढ्न पुगेको हो । सबैभन्दा कम औषत नाफा वृद्धिदर भने नबिल बैंकको देखिएको छ । सो बैंकको पछिल्लो ४ आर्थिक वर्षको पहिलो ६ महिनाको औषत खुद नाफा वृद्धिदर ११.६९ प्रतिशत रहेको छ ।