May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भ्रमण वर्षसंगै शुक्लाफाँटामा भित्रिने पर्यटकको संख्या चार सय नाघ्यो, पर्यटकको संख्या बृद्दी गर्न महोत्सव हुदै

भ्रमण वर्षसंगै शुक्लाफाँटामा भित्रिने पर्यटकको संख्या  चार सय नाघ्यो, पर्यटकको संख्या बृद्दी गर्न महोत्सव हुदै

११ फागुन, काठमाण्डौ
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङख्यामा वृद्धि भएको छ । तीन सय ४ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटमा भ्रमण वर्ष सुरु भए संगै हालसम्म जम्मा चार सय १९ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।
निकुञ्जमा चार सय एक जना नेपाली, सार्क क्षेत्र भित्रबाट ६ जना र अन्य विदेशी मुलुकबाट १२ जना गरी जम्मा ४ सय १९ जना पर्यटकले अवलोकन गरेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यस्तै, नेपालको पश्चिमी नाका गड्डाचौकीबाट जनवरी महिनामा विभिन्न देशका जम्मा २ सय २४ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा सबैभन्दा बढी अमेरिका र रसियन नागरिक रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको छ । योसँगै दोधाराको झोलुङ्गेपुल, वेदकोट ताल, वेदकोटको लिङ्ग क्षेत्र, झिलमिला ताल यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । निकुञ्जभित्र ५३ प्रजातिका वन्यजन्तु, २४ प्रजातिका माछाहरू, ३५ प्रजातिका पुतलीहरू, ४ सय २४ प्रजातिका चराहरू, सात सय प्रजातिका रुख बिरुवा, १२ प्रजातिका घर्षने वन्यजन्तु, तराईको सबैभन्दा ठूलो क्षेत्र फैलिएको ५४ वर्ग किलोमिटर घाँसे मैदान, विश्वकै सबैभन्दा ठूलो २ हजार ३ सय ४६ बाह्रसिङ्गाको झुण्ड, र ५६ प्रजाति स्तनधारी जनावर रहेका छन् ।
यसैबिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्र्घन गर्ने उदेश्यले भिमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा शुक्रबारदेखि १९ गतेसम्म तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।


महोत्सवको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच कञ्चनपुर क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सांसद मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरे ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित मेलामा करिब पाँच हजार पर्यटकले अवलोकन गर्ने र करिब साढे सात करोडको कारोबार गर्ने अनुमान गरेको छ । मेलामा भीमदत्त नगरपालिकाले पाँच लाख र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई लाख ५० हजार लगानी गर्ने बताएको छ ।

शुक्लाफाँटा राष्ट्रिय अध्यागमन अनुसार पर्यटकीय पूर्वाधारको अभाव तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा चाँदनीदोधारा झोलुंगे पुल, रामारोसन, खप्तड, बडिमालिका लगायत क्षेत्र ओझेलमा पर्ने गरेको छ । जसको कारण पश्चिमी नाकाबाट भित्रिने पर्यटकको सङख्यामा कमि देखिएको पर्यटन व्यावसायीको भनाई रहेको छ । नाकामा पर्यटनमैत्री वातावरण सृजना गर्न, सम्भावित पर्यटकीय स्थलको प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिनसके यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिनेछ ।