May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

१ अर्ब बढीको कारोबार गर्दै सकियो विराट एक्स्पो

१ अर्ब बढीको कारोबार गर्दै सकियो विराट एक्स्पो

१२ फागुन, काठमाण्डौ ।
विराटनगरमा आयोजित कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रर्दशनी अर्थात विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा फागुन २ देखि सुरु भएको एक्स्पोले प्रदर्शनीको अवधिमा लक्ष्य अनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।
विराटनगर २ स्थित शंकरपुरमा आयोजना गरिएको उक्त एक्स्पो प्रर्दशनी अवधिमा ३ लाख २५ हजार ब्यक्तिले अवलोकन गरेका थिए भने ४ सय ६५ वटा स्टलहरु राखिएको थियो । जसमध्ये बंगलादेश,भारत,श्रीलंका,पाकिस्तान र भुटानका ४५ वटा स्टलहरु थिए । एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजकको भनाई रहेको छ ।
एक्स्पोमा राखिएका सबै स्टलहरुमा सोचेभन्दा राम्रो ब्यापार भएको हुदा १ अर्बको कारोबार भएको हो । अपेक्षा भन्दा राम्रो ब्यापार र उपलब्धि गर्दै यसपटकको एक्स्पो ऐतिहासिकरुपमा सम्पन्न भएको हुदा आगामी दिनमा प्रदर्शनी स्थल निर्माण गरेर ब्यापार मेलालाई निरन्तरता दिने उद्योग संगठन मोरङले जनाएको छ ।
प्रर्दशनीमा अन्तराष्ट्रिय उद्योगका उत्पादनका साथै मेचीदेखी महाकालीसम्मका नेपाली उद्योगहरुले आफ्ना उत्पादन प्रबद्र्धन र विक्रीका लागि ल्याएका थिए । एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीले समेत अफर लिएर आएका थिए । उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका थिए ।
एक्पोका कारण उपभोक्ता उद्योगी र व्यापारी एकैठाँउ जुट्ने अवसर प्राप्त भएको थियो ।जसमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगद देखि विभिन्न उपहारको व्यवस्था गरेका थिए । बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, का साथ सांगीतिक कार्यक्रम गरिएको थियो । एक्स्पोमा बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको थियो ।