May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

निर्यात भन्दा आयात बढी हुँदा व्यापार घाटा बढ्यो

निर्यात भन्दा आयात बढी हुँदा व्यापार घाटा बढ्यो

फागुन १३, काठमाण्डौ ।
नेपालमा आयात बढ्दै जाने तर निर्यात नबढ्ने अवस्थाका कारण व्यापार घाटा दिनप्रतिदिन उच्च बन्दै गएको छ। भन्सार विभागको तथ्यांक अनुसार मुलुकको मुख्य व्यापार रहेको भारतसँग ७ महिनामा ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएकोमा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा पनि १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ छ ।
सार्कमा नेपालसहित आठ मुलुक सदस्य छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आवद्ध सबै सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटामा छ । नेपालले सातवटै मुलुकसँग घाटाको व्यापार गरिरहेको नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ सय ४९ मुलुकसँग व्यापार गर्दै आएकोमा ३२ मुलुकसँग एकदम न्यून नाफा देखिएको छ । केही युरोपियन मुलुकमा गलैंचा र पश्मिनाको माग बढेसँगै नाफा देखिएको हो । नाफा भएका मुलुकमध्ये सबैभन्दा बढी अल्जेरियासँग छ । यो मुलुकसँग ७ करोड ७४ लाख रुपैयाँ नाफा देखिएको छ । विभागको तथ्यांक अनुसार ७ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
कृषिप्रधान मुलुक नेपालमा पछिल्लो समय अत्यधिक कृषिजन्यवस्तु आयात भइरहेको छ। यसरी कृषिजन्य वस्तु आयातअन्तर्गत मुख्य रूपमा धान, चामल, मकै, गहुँ, फापर, बीउविजन, तरकारी, फलपूmल खसी–बोका, चिया कफी, दुग्धजन्य र माछाजन्य पदार्थ तथा खाने तेल आयात भएको छ। यस अतिरिक्त, रासायनिक मल, दाल मसला, घिउलगायत अन्य कृषिजन्य वस्तु पनि अर्बौं मूल्यको आयात हुने गरेको छ।
खेतीयोग्य जमिन प्रति वर्ष बाँझो रहनु, दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि विदेश पलायन हुनु, खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको अभाव, लागत खर्चमा अत्यधिक वृद्धि तथा रेमिट्यान्सको प्रभाव र क्रयशक्ति बढ्दै जानुका कारण आयात उच्च हुन जाँदा व्यापार घाटा प्रतिवर्ष कहालीलाग्दो रूपमा वृद्धि भएको छ। विशेषत बढ्दो व्यापार घाटा चरमरूपमा विकास भएको भ्रष्टाचार र बेरुजु देश विकासमा वाधक भएर उभिएको छ। डरलाग्दो रूपमा मौलाएको भ्रष्टाचारले देशको बेरुजु मौलाउनमा मलजल गरेको छ। अझैपनि व्यापार घाटा कम गर्ने उपाय अवलम्बन नगर्ने हो भने देशमा विकराल अवस्था आउने निश्चित छ ।