पाथीभरा म्याराथन आज हुँदै

पाथीभरा म्याराथन आज हुँदै

१३ फागुन, काठमाण्डौ मेची पर्यटन महोत्सवको अन्तिम दिन आज पाथीभरा म्याराथन प्रतियोगिता हुँदैछ । म्याराथनका लागि मंगलबार विभिन्न स्वदेशी खेलाडी ताप्लेजुङ पुगेका छन् । प्रतियोगितामा पुरुषतर्फ खुला म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुनेछ । खुलातर्फ ४७ र महिला हाफतर्फ २७ किलोमिटर दूरी रहेको छ ।
म्याराथनका लागि खुलातर्फ ९३ र हाफ म्याराथनमा २४ खेलाडीले नाम लेखाएका छन् । खेलाडीको स्वास्थ्य परीक्षण गरेर तयारी अवस्थामा राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष खेलाडीले सदरमुकाम फुङलिङको तोक्मेस्थित सेनाको ब्यारेकदेखि फुङलिङ बजारको वीरेन्द्रचोक हुँदै उकालीपानी– सुकेटार–देउराली–काफ्लेपाटी–पाथीभरा मन्दिर भएर पुनः ब्यारेकको मैदानमा आइपुग्नुपर्नेछ ,भने महिला खेलाडीले सोही रूट काफ्लेपाटीसम्म पुगेर फर्कनुपर्नेछ ।
खुलातर्फका विजेताले १ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रोले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला हाफ विजेताले ८१ हजार, उपविजेताले ५१ हजार र तेस्रोले ३१ हजार प्राप्त गर्नेछन् । दुवैतर्फका टपटेनलाई जनही ५ हजारले पुरस्कृत गरिने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले जनाएको छ ।