May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सत्तारुढ नेकपामा संविधान संशोधनको विवाद नयाँ मोडमा

सत्तारुढ नेकपामा संविधान संशोधनको विवाद नयाँ मोडमा

प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेर आफ्नो पक्ष बलियो बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय छन् । त्यसका लागि उपाध्यक्ष पाउँदा प्रधानमन्त्री ओलीको कित्तामा पुगेका वामदेव गौतमलाई आफूतिर तान्नुपर्थ्यो । त्यही रणनीतिअन्तर्गत सचिवालय बैठकमा दाहालको प्रस्तावमा संविधान संशोधन कार्यदल बन्यो । त्यसको एक मात्र उद्देश्य उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बन्न बाटो खोलिदिने हो । एकजना व्यक्तिका लागि संविधान संशोधन गर्न वरिष्ठ नेता नेपाल संयोजक रहेको कार्यदल गठन भएपछि राष्ट्रिय राजनीतिमा खैलाबैला नै मच्चिएको छ। सार्वजनिक तहबाट व्यापक अालोचना भएपछि सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमै नबस्ने घोषणा गरिसकेका छन्  ।झट्ट हेर्दा सतहमा कार्यदल देखिए पनि खास रणनीति सचिवालयमा बहुमत र पार्टीमा पकड जमाउनेमा केन्द्रित छ । करिब दुई वर्ष पार्टी र सरकार एकलौटी जस्तै चलाएका प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन अर्का अध्यक्ष दाहालले पूर्वएमाले खेमाकै नेताहरुबीच विभाजन ल्याएर एउटा खेमा साथमा लिने रणनीति बनाएको कतिपय नेताको बुझाइ छ ।नेकपाको नौ सदस्यीय सचिवालयमा यतिखेर वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ खुलेरै अध्यक्ष दाहालका एजेण्डामा उभिएका छन् ।  प्रधानमन्त्री ओलीको पक्षमा प्रस्टसँग इश्वर पोखरेल मात्रै देखिएका छन् । र विष्णु पौडेल र रामबहादुर थापाको दोहोरो भूमिका देखिएको नेताहरू बताउँछन् । पूर्वमाअोवादी खेमा अोलीविरूद्धको असन्तोषलाइ एकत्रित गर्ने कोशिसमा देखिन्छ ।सत्तारुढ दल नेकपाले अर्को वर्षभित्र एकता महाधिवेशन गर्ने उद्घोष गरेको छ । प्रधानमन्त्री ओली, उनका विश्वासपात्र र सरकारका गतिविधि एकपछि अर्को विवादमा फस्दै गएका बेला उनीविरूद्धको घेराबन्दी बलियो बन्न पाएको छ । तर व्यक्ति फकाउन संविधान नै संशोधन गर्ने र मुलुकलाई थप अस्थिरतामा धकेल्ने प्रयास नेकपालाई नै महँगो पर्न सक्छ ।