April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

पशुपतिमा आएका सात श्रेणीका साधु , सात प्रकारकै दक्षिण

पशुपतिमा आएका सात श्रेणीका साधु , सात प्रकारकै दक्षिण

फागुन १५, काठमाडौं ।
शिक्षा र दर्शन अनुसार जोगी थरीथरीका हुन्छन् । भारतमा विभिन्न सात वटा ठूला अखडा रहेका छन् । जोगीका शस्त्रविद्या यिनै अखडामा सिकाइन्छ । महाशिवरात्रिका लागि भारतका विभिन्न अखडाबाट धेरै किसिमका साधु तथा नागाबाबा पशुपति क्षेत्रमा आएका थिए ।
यस वर्ष साधुहरुलाई ७ वटा श्रेणी तोकिएको थियो । यस वर्ष विशिष्ट नाग २४३ , साधारण नाग १९४, अन्य अखडाका पुजारी गरी ७ सय ३२ जना साधु शिवरात्रिमा पशुपति आएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।
गुठी संस्थाले हरेक वर्षको शिवरात्रिमा पशुपति आउने साधु तथा नागाबाबा हरुलाई दक्षिणा दिएर सम्मानका साथ विदाई गर्दै आएको छ । संस्थाले साधु तथा नागाहरुको स्तरको आधारमा दक्षिणा प्रदान गर्ने गरेको छ । नागा साधु विशिष्ट र साधारण श्रेणीका हुन्छन् । नागापछि विभिन्न अखडा र मठका पुजारी, महन्त लगायत पर्छन ।

त्यस्तै संस्थानले साधारण साधुलाई पनि घ, ङ, च श्रेणीमा विभाजन गरेर दक्षिणा वितरण गर्ने गरेको छ । घ श्रेणीका ८०४, श्रेणीका ३९३ र च श्रेण्ीका ७०६ जना साघु रहेका थिए । यस वर्ष पशुपतिमा आएका साधु तथा नागा साधुलाई गुठी संस्थानले विशिष्ट नागालाई ९ सय ५१ र साधारण नागालाई ७ सय ५१ रुपैयाँ दक्षिण दिएको थियो ।
सामान्यतया संन्यासीले तीन वटा मापदण्ड पूरा गरेका हुन्छन् । यि तीन वटा विभागमा १६ प्रकारका जोगी हुन्छन् । पहिलो विभागमा वैराग्य संन्यास, ज्ञान संन्यास, ज्ञान वैराग्य संन्यास र कर्म संन्यास गरी चार प्रकारका हुन्छन् । दोस्रो विभागमा कुटिचक्र, बहुदक, हंस, परंहस, तुरियातित र अवधुत गरी ६ प्रकारका हुन्छन् । तेस्रो विभागमा विधिपरक संन्यास, निषेधपरक संन्यास, सक्रमक संन्यास, अक्रमक संन्यास, अखण्ड ब्रह्मचारी र फल्गु वैराग्य गरी ६ प्रकारका हुन्छन् ।
अघिल्ला वर्ष अर्थात् २०७५ सालमा विशिष्ट र साधारण गरी ५ सय १ नागा साधु र १२ हजार ७ सय ८१ साधु आएको संस्थानले जनाएको छ । त्यस्तै २०७४ सालमा विशिष्ट नागा २८ र साधारण नागा १ सय १ गरी १ सय २९ जना मात्र उच्च स्तरका साधु आएका थिए ।