April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

मोडल खुस्बु ओलीलाई दुई वर्षको जेल सजाय

मोडल खुस्बु ओलीलाई दुई वर्षको जेल सजाय

लेनदेन विवादमा मोडल खुस्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तिर्नु पर्ने रकम नतिरेको भन्दै जिल्ला अदालतले शुक्रबार दुई वर्षको कैद सजाय सुनाएको हो ।

सप्तरीको राजविराज–८ का गोपाल कटुवाल र मोडल खुस्बु ओलीबिच लेनदेन विवाद थियो । विगतमा सम्बन्ध राम्रो रहेका उनीहरुले एकअर्कासँग रकम लिने गरेका थिए ।

दुई वर्षअघि ओलीले कटुवाललाई घर किन्न लागेको र पैसा नपुगेको भन्दै सापटी मागेकी थिइन् । कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए।

ओलीले उक्त रकमको सावाँ–ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन् । कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन् ।

खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । बैंकले भने रकम नभएको भन्दै उनलाई फर्काइदियो ।

त्यसपछि कुटुवालले अदालतलको ढोका ढकढक्याएका हुन् । पछि पटक–पटक फोन गरेर पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवालको भनाई छ। त्यसपछि कटुवाल दोस्रोपटक चेक साट्न बैंक पुगे। बैंकले भन्यो, ‘ओलीको खातामा पर्याप्त रकम छैन।’

तेस्रो पटक पनि कटुवाल चेक लिएर कुमारी बैंक पुगे। यो पटक पनि रकम थिएन । चेक बाउन्स भएको बारे समेत आफूले ओलीलाई जानकारी गराएको कटुवालले बताएका छन् । आश्वासन दिए पनि पैसा नआएपछि गएको वर्षको साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका हुन् ।