April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सरकारले पार्टीभित्रको झमेला मिलाउन संविधान दुरुपयोग गर्‍यो : सिटौला

सरकारले पार्टीभित्रको झमेला मिलाउन संविधान दुरुपयोग गर्‍यो : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पार्टीभित्रको ‘झमेला’ मिलाउन संविधान दुरुपयोग गर्न लागेको बताउनु भएको छ । सरकारले संविधानको मर्मविपरीत संविधान संशोधन गर्ने प्रयास गरिरहेको उहाँको टिप्पणी छ । 

चुनावमा पराजित भएको व्यक्तिलाई संविधानको भावना र व्यवस्था विपरीत राष्ट्रिय सभामा ल्याउन खोज्नु कम्युनिष्ट सरकारले संविधानको चरम दुरुपयोग गरिरहेको स्पष्ट भएको उहाँको भनाई छ । शनिबार झापाको बिर्तामोडमा कांग्रेस झापा २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता सिटौलाले संविधान दुरुपयोग गरेर नेकपाले जनताको नभई कम्प्युनिष्ट पार्टीको मात्र सरकार बनाउन लागेको आरोप लगाउनुभयो । 

अदालतलाई कम्युनिष्ट अदालतको रुपमा विकास गर्न खोजिरहेको भन्दै उहाँले संवैधानिक निकायहरु, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो रबर स्टाम्प बनाउन खोजेको उहाँको भनाई छ । 

सिटौलाले दुई तिहाईको बहुमत प्राप्त सरकार भएपनि कांग्रेस सरकारविरुद्ध सडकमा जाने बेला भएको बताउनुभयो । सरकारले एकपछि अर्को गर्दै जनता विरोधी निर्णय र काम गरेकाले अधिकार स्थापित गर्न संघर्षमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।

कांग्रेसको आगामी महाधिवेशन पार्टी र मुलुक दुवैका लागि महत्वपूर्ण रहेको भन्दै निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने माग राख्दै सिटौलाले दुरदृष्टि र क्षमतावान नेतालाई मात्र नेतृत्वमा लानुपर्नेमा जोड दिनुभयो ।