June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपालमा खान पुग्ने अन्न उत्पादन हुन छाड्यो, खाद्यान्न आयातमा मात्रै सवा खर्ब खर्च

नेपालमा खान पुग्ने अन्न उत्पादन हुन छाड्यो, खाद्यान्न आयातमा मात्रै सवा खर्ब खर्च

फागुन १९, काठमाडौं ।
नेपालमा ३१ लाख हेक्टर खेतीयोग्य जमिन रहेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ । अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ । तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात भइरहेको छ ।
कुनै बेला धानचामल निकासी गर्ने देश नेपाल धनियाँदेखि गहँुको पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । कृषिमा व्यावसायिक र विविधीकरणको अभाव र कृषि जनशक्ति तथा श्रमिक विदेश पलायनको अवस्थाले कृषिमा परनिर्भता बढ्दै गएको देखिन्छ ।
सरकारले कृषिमा देशलाई आत्मनिर्भर बनाउने भनिए पनि कृषिजन्य वस्तुका आयात बढ्दो क्रममा रहिआएको छ । भन्सार विभागको तथ्यांकअनुसार विगत २ वर्षको आँकडालाई मुख्य आधार मान्दा प्रमुख चार खाद्यान्न वस्तु चामल, मकै, गहुँ र जौमा १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
नेपाललाई कृषिप्रधान देश भनिए पनि परनिर्भता बर्से्नि बढ्दै गएको छ । चालु आर्थिक वर्षको सात महिनामा प्रमुख खाद्यान्न्न बस्तु चामल, मकै, गहुँ र जांै २९ अर्ब ४६ करोड ९० लाख ३३ हजार रुपैयाँको अयात भएको भन्सार विभागले देखाएको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५।७६ मा प्रमुख चार खाद्यान्न बस्तु आयातमा ४९ अर्ब ६७ करोड ३१ लाख ९३ हजार रुपैयाँको आयात भएको देखाउदछ । चालु आर्थिक वर्षको सात महिनामा मात्र चामल आयातमा १९ अर्ब ५ करोड ४९ लाख ३७ हजार रुपैयाँ मुलुक बाट बाहिरीएको छ ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४।७५ मा चामल, मकै, गहुँ र जौं आयातका लागि ४४ अर्ब ३० करोड ८० लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । चामल २९ अर्ब ५३ करोड २३ लाख ३१ हजार रुपैयाँको आयात भएको थियो । मकै १२ अर्ब ५५ करोड ४६ लाख ४७ हजार रुपैयाँ , गहुँ २ अर्ब २१ करोड ३४ लाख ३९ हजार रुपैयाँ र जांै ७५ लाख ९६ हजार रुपैयाँको आयात भएको थियो ।
निर्यात व्यापार कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो । देश समृद्धिशाली नहुनुको कारण देशको निर्यात व्यापार कमजोर हुनु हो । कृषियोग्य जमिन बाँझो हुनु, दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि बाहिर जानु, लागत खर्च अत्यधिक हुनु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव, रेमिट्यान्सको प्रभाव र क्रयशक्ति बढ्दै जानुलगायतका कारणले आयात उच्च हुन गएको हो ।