राष्ट्रिय योजना आयोग द्वारा मुलुकको १५ औं योजना पारित

राष्ट्रिय योजना आयोग द्वारा मुलुकको १५ औं योजना पारित

फागुन १९, काठमाडौं ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो ।
गत बैशाख १७ गते पारित भएको आधारपत्र अनुरुप १५ औं योजना बैठकले पारित गरेको हो। आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि पत्रकारसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए ।
उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत उपाध्यक्ष कँडेलले बताए ।
बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको थियो । यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको छ।
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तै संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ ।