April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा. महावीर पुन नियुक्त

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा. महावीर पुन नियुक्त

२० फागुन, काठमाण्डौ ।
मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा पुनले सोमबार हस्ताक्षर गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए ।
सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताउदै देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् ।
उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् ।