April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बजारमा मास्कको हाहाकार, कृतिम अभाव सिर्जना गर्दै व्यापारी

बजारमा मास्कको हाहाकार, कृतिम अभाव सिर्जना गर्दै व्यापारी

फागुन २१, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड(१९) को बढ्दो त्रासबीच चिकित्सकले मास्क प्रयोग गर्न सुझाइरहेका छन् । तर बजारमा मास्क भने किन्नै पाइदैन । पाइहाले पनि व्यापारीले महंगोमा बेच्न थालेका छन् । अधिकांश व्यापारीले मास्क लुकाएर कृतिम अभाव सिर्जना गर्न थालेका छन् ।
नेपालमा तीन उद्योगले मास्क उत्पादन गरिरहेका छन् । बनेपाको साँगामा सञ्चातिल साँगा क्लिन सिटी उद्योगले दैनिक ५ हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गर्छ । काठमाडौंको बौद्धस्थित उद्योगले दैनिक तीन हजार थान नर्मल मास्क उत्पादन गर्छ । बुटवलमा रहेको उद्योगले कपडाको कटन मास्क उत्पादन गर्छ । यी उद्योगको दैनिक क्षमता साढे १३ हजार थानसम्म मास्क उत्पादन छ । यसरी मागअनुसार मास्क बनीरहेतापनी नेपालमा नै उत्पादन हुने मास्कको अभाव सिर्जना गर्दा उपभोक्ता भने मारमा परेका छन् ।

छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण र नेपालमा पनि केहि व्यक्तिमा त्यसको आशंका गरिएपछि बजारमा सर्जिकल माक्सको माग बढीरहेको छ। माग बढीरहेको मौकामा व्यवसायीहरुले मूल्य बढाएर कालोबजारी गर्न थालेका हुन्।
बजारमा अहिले कारोना भाइरसको संक्रमणबाट बच्न ‘एयर फिल्टर मास्क’ को माग बढी छ । डेढ महिनादेखि बजारमा भाइरस फिल्टर गर्ने ‘एन–९५’ मास्कको अभाव भएको सर्जिकल व्यवसायी बताउँछन् । तर दुई सातायता पेपर (डिस्पोजेबल) मास्कको समेत अभाव देखिन थालेको छ । तीन साता अघिसम्म प्रतिगोटा ५ रूपैयाँ पर्नेलाई २० देखि २५ रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४०र५० रूपैयाँसम्म असुलेका खुद्रा व्यापारीहरू यतिबेला थोकमै खरिद गर्न नपाएको बताउँछन्।
एकपटक लगाएर मिल्काउन हुने डिस्पोजेबल मास्क सस्तो र सजिलो हुने भएकाले गत महिनासम्म सर्वसुलभ थियो। यतिबेला त्यो सस्तो र सजिलो मास्क त पाइँदै पाइँदैन, महंगो भएपनि सुरक्षित मानिएका एन(९५ लगायतका मास्क पनि किन्न नपाउँदा सर्वसाधारण आजित छन्।
कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको बेला यसबाट नेपाल अछुतो पक्कै हुदैन । भोलि साँच्चै नेपालमा कोरोना भित्रियो र स्वास्थ्यकर्मीले नै मास्क पाएनन भने? भाइरस आउँछ र आफू मात्र सुरक्षित हुनुपर्छ भन्ने स्वार्थबाट माथि उठेर अनावश्यक रुपमा मास्क थुपार्ने काम बन्द गर्नुपर्छ।  त्यसैले मास्कको कालोबजारी बढिरहँदा नियमनकारी निकायको सक्रियता जरुरी देखिन्छ ।