April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदद्वारा पद तथा गोपनीयताको शपथग्रहण

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदद्वारा पद तथा गोपनीयताको शपथग्रहण

फागुन २१, काठमाडौँ ।
राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।उनिहरुले बानेश्वरस्थित संसदको ल्होत्से हलमा बुधबार बिहान शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।
राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल यही फागुन २० अर्थात् हिजो मंगलबारबाट सकिएको छ। त्यही रिक्त स्थानमा पद पूर्तिका लागि माघ २४ गते निर्वाचन गरिएको थियो।
पहिलोपटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो। जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको हो।
बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहालले शपथ लिएका छन् । यस्तै, सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसालले शपथ लिएका छन् । यस्तै, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरको शपथ भएको छ ।
यसैबिच आज साँझ चार बजे युवराज खतिवडाले पनि अर्थमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ । उनले हिजो मात्रै अर्थमन्त्रीबाट राजिनामा दिएका थिए ।