विश्व अर्थतन्त्रसँगै नेपालको पुर्वाधार, पर्यटनदेखि हवाई क्षेत्रमा समेत असर

विश्व अर्थतन्त्रसँगै नेपालको पुर्वाधार, पर्यटनदेखि हवाई क्षेत्रमा समेत असर

फागुन २८, काठमाडौँ ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा असर पारेसंगै नेपालको पुर्वाधार, पर्यटन र हवाई क्षेत्रमा समेत असर पारेको छ । अर्थ मन्त्रालयले गठन गरेको अध्ययन टोलीले कोरोनाले मुलुकको अर्थतन्त्रमा पारेको असरबारे प्रारम्भिक निष्कर्ष निकालेको छ ।
गत साता अर्थ मन्त्रालयले एक टोली नै बनाई सुक्ष्म अध्ययन शुरू गरेको थियो । सो टोलीले अध्ययन अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयका निति तथा विश्लेषण महाशाखा प्रमुख एवम् सह–सचिव यज्ञ ढुंगेलको नेतृत्वमा कोरोनाको असरबारे अध्ययन गर्न टोली बनाएको थियो ।
अध्ययनमाको तथ्याङकको अनुसार अहिलेसम्म मुलुकको पुर्वाधार, पर्यटन तथा हवाई क्षेत्रमा कोरोनाको असर देखिएको छ । ‘अध्ययन समितिले आफ्नो काम सकेर २।३ दिन भित्रै प्रतिवेदन तयार पार्ने तयारीमा रहेको छ । नेपालमा हालसम्म कोरोनाको असर मुलुकको आयात–निर्यात, पर्यटन आगमन, वैदेशिक रोजगारी, विकास निर्माण लगायत क्षेत्रमा परिसकेको छ ।
पछिल्लो समय विकास निर्माणका लागि आवश्यक उपकरण तथा चिनियाँ कामदार चीनमै रोकिँदा ठुला विकास आयोजनाको निर्माणको काम प्रभावित भएको छ ।कोरोनाको असर सबैभन्दा बढी पर्यटन क्षेत्रमा देखिएको छ । नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ भने काठमाडौं लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू सुनसान छन् ।
त्यस्तै आन्तरिक हवाई सेवामा पछिल्लो २ महीनामा यात्रुको संख्या ४० प्रतिशतले कमी आएको देखिन्छ भने ४ अर्ब बराबरको व्यापार प्रभावित भएको छ । सरकारले अहिले तत्कालै राहतको प्याकेज ल्याउने तयारी गरेको छैन । अत्यावश्यक वस्तुमा सरकारले बजारमा आपुर्ति बढाउन मास्क र स्यानिटाइजरमा भन्सार महसुल छुट दिने तयारी गरेको छ ।
विशेषगरी, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले मास्क र स्यानिटाइजरको आपुर्ति बढाउन भन्सार छुट दिनुपर्ने निचोड निकालेको छ । सोही आधारमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले मास्क र स्यानिटाइजरमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका थिए । अहिले मास्कमा १० प्रतिशत र स्यानिटाइजरमा ५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । त्यसबाहेक दुवैमा अतिरिक्त १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत लाग्छ ।