पूर्वसञ्चारमन्त्री गोकुलको घरमा बम प्रहार

पूर्वसञ्चारमन्त्री गोकुलको घरमा बम प्रहार

२८ फागुन, काठमाडौं ।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा आज (बुधबार) बिहानै शक्तिशाली बम विस्फोट भएको छ । बलमे छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको कम्पाउन्डमा कुकर बम प्रहार गरेको अनुमान गरेको छ ।
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो । विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् ।
साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ । बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ । सिसा पनि फुटेका छन् ।
घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ । घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन् ।
थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ । विस्फोटपछि अहिले स्थानीय त्रसित भएका छन् । घटनापछि अहिले घटनास्थलमा बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको छ ।

घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ ।

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् । बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो बाहिरिएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।