स्टिल झिक्नुको सट्टा डाक्टरले नै हड्डी काटिदिएपछि…

स्टिल झिक्नुको सट्टा डाक्टरले नै हड्डी काटिदिएपछि…

२९ फागुन, काठमाडौं ।
चिकित्सकलाई भगवानको दर्जा दिने गरिन्छ । तर कहिले काहीँ तिनै चिकित्सकको लापरबाहीका कारण नसोचेको घटना हुने गर्दछ । चिकित्सकको चरम लापरबाहीले एक बिरामीको स्टिल शल्यक्रिया गरेर निकाल्ने क्रममा चिकित्सकले हड्डी काटिदिएका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्राङका ४२ वर्षीय पूर्णबहादुर खत्रीको भाँचिएको कुम जोड्न राखिएको स्टिल शल्यक्रिया गरेर झिक्ने क्रममा गाईघाटस्थित सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले शल्यक्रिया गर्ने क्रममा हड्डी काटिदिएका हुन् ।
खत्रीले गत कात्र्तिक ७ गते शल्यक्रिया गर्ने क्रममा देब्रे हातको कुममा राखिएको स्टिल झिकेपछि कुमको दुखाइ निको नभएको र देब्रे हातले पनि बलको काम गर्न नसक्ने भएपछि तीन साता अघि सुधारको अवस्था जाँच गर्न अस्पताल पुगी एक्सरे गरेर हेर्दा कुमको हड्डी नै निकालिएको थाहा पाएको बताए ।
२०७५ माघ ७ मा दिक्तेल बजारमा लडेर उनको देब्रे कुमको हड्डी भाँचिएपछि उनी जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा पुगेका थिए । त्यहाँ उनको कुम जोड्न माघ २८ मा स्टिल राखिएको थियो ।
अस्पतालका अध्यक्ष समेत रहेका डा. साहले भने खत्रीको उपचारमा लापरबाही नभएको र त्यो आफुले गरेको नभई अपरेसनका बेला राखिएको तारले घोटिएर हड्डी छिनेको बताए । साथै, खत्रीको उपचारमा लापरबाही भएको पुष्टि भए कानुनले तोकेको सजाय भोग्न तयार रहेको उनले बताएका छन् ।
यता, स्वस्थ हुने आशाका साथ अस्पताल पुगेको तर डाक्टर साहले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फयाँकिदिए पछि अपांग हुन पुगेकोे आरोप लगाउदै खत्री भने आफन्त सहित अस्पताल र चिकित्सक विरुद्ध कारबाही माग गर्दै प्रहरी कहाँ पुगेका छन् ।