टोकियो ओलम्पिक निर्धारित समयमै गर्न जापान तयार

टोकियो ओलम्पिक निर्धारित समयमै गर्न जापान तयार

२ चैंत, काठमाडौं

कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना गर्ने जनाएको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक र पारालम्पिक खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने घोषणा गरेका हुन् ।

ओलम्पिक र पारालम्पिक खेलहरू निर्धारित समयमै हुने बताउँदै प्रधानमन्त्री आवेले कोरोना भाइरसले गर्दा अन्य देशको जस्तो नाजुक स्थिति जापानको नभएको बताए । साथै, कोरोनाले गर्दा जापानमा इमर्जेन्सी लगाउनु पर्ने अवस्था नभएको पनि उनले प्रस्ट पारेका छन् ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुनेछ । कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) अहिले छलफलमा ब्यस्त छ । यही समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

कोरोना भाइरसका कारण यतिबेला टोकियो ओलम्पिक २०२० को आयोजना अनिश्चित बन्दै गएको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ ।