May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

आजबाट धितोपत्र बजार खुल्ने, सर्किट ब्रेकरमा भने पुरानै व्यवस्था

आजबाट धितोपत्र बजार खुल्ने, सर्किट ब्रेकरमा भने पुरानै व्यवस्था

सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको धितोपत्रको दोस्रो बजार आजबाट खुल्ने भएको छ । वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको बजार त्यसयता लगातर बन्द रहँदै आएको छ । आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेसँगै आजबाट बजार खुल्ने भएको हो ।


कोरोनाको जोखिम समान्य नहुदाँसम्म नियमित कारोबार समय भने ४ घण्टामात्र हुनेगरी कारोबार खुल्ने भएको हो । अध्ययन समितिले घरबाट पनि लगानीकर्ता सेयर खरिद र बिक्री गर्नसक्ने अवस्था भएकाले कारोबार गर्न सकिने सुझावसहितको प्रतिवेदन दिएपछि बोर्डको आइतबार सम्पन्न सञ्चालक समितिले सोमबारदेखि कारोबार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए । ‘बोर्डको सञ्चालक समितिले सोमबारदेखि बजार खुलाउने निर्णय गरेको छ,’ उनले भने, ‘कारोबार ढाँचाको सन्दर्भमा निर्णय गर्ने अधिकार नेप्सेलाई हुने गरी कारोबार खोल्न निर्देशन दिएका छौं ।’

बजारमा सर्किट ब्रेकरसम्वन्धी पुरानै व्यवस्था कायम रहने छ । बिहान ११ बजेदेखि पुरानै सर्किट ब्रेकर कायम गरेर बजार खुल्नेछ । पुरानो सर्किट ब्रेकरअनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्ने छ । कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ ।

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोवार स्थगित हुनेछ । परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ । बजार बीचमा वैशाख ३० र ३१ गते दुई दिन सञ्चालन गरिएको थियो । ती दुई दिन सर्किट ब्रेकरमा परिवर्तन गरी २ प्रतिशतभन्दा बढी नेप्से घटे वा बढेमा कारोबार बन्द हुने व्यवस्था गरिएको थियो ।


धितोपत्र बोर्डले बजार खुलाउन निर्देशन दिएलगत्तै नेप्सेको पनि सञ्चालक समितिले पनि सोमबार देखि ४ घण्टामात्र कारोबार गर्ने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।


कोरोनाका कारण कारोबार समयमा परिवर्तन गरी ४ घण्टा अर्थात ११ बजेदेखि ३ बजेसम्म मात्र हुने नेप्से सञ्चालक समितिले निर्णय गरेको हो । यो निर्णयसँगै नेप्से सूचक तथा कम्पनीको सेयर मूल्यमा हुने उतारचढाव लाग्ने सर्किट ब्रेकरको सन्दर्भमा विगतकै अभ्यास कायम रहेको साउदले बताए ।

लगानीकर्ताहरुले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सीडएससी, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड १९ सुरक्षाकाउपायहरु पालना गरी कारोबार गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।


धितोपत्रबजार सम्बद्ध संस्थाहरुले उपयुक्त स्वास्थ्य सुरक्षाविधिहरु नअपनाई कार्यालय खोलेको पाइएमात्यस्ता संस्थाउपर कारवाही हुने समेत बोर्डले जनाएको छ । अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरुले लगानीकर्ताका लागि स्क्रीन रुम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।