May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

‘भारतले होइन, मैले मागेको हुँ प्रधानमन्त्रीको राजीनामा’ – अध्यक्ष प्रचण्ड

‘भारतले होइन, मैले मागेको हुँ प्रधानमन्त्रीको राजीनामा’ – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको बताए । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको प्रसङ आएपछि दाहालले आफूले राजिनामा मागेको बताएका छन् ।


अध्यक्ष प्रचण्डले मात्रै होइन दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रम ओलीको राजीनामा मागेका छन् । ओलीले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न नपाउने उनीहरूको भनाइ छ ।


आइतबार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए । आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको समेत आरोप लागेपछि नेताहरु थप आक्रोशित भएका हुन् । प्रतिउत्तरमा प्रचण्डले बैंठकमै भारत नभै आफूले मागेको बताएका हुन् ।


भारतविरुद्ध बोलेर प्रम ओलीले पार्टीको प्रतिष्ठा गिराएको सदस्यको आरोप छ । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित पार्न नसकिने उनीहरुको भनाइ छ । जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गरेका थिए । पछिल्लो समय ओली पार्टीभित्रै र बाहिर दुबै तर्फबाट घेरिदै आएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतसँगै मिलेर नेकपाकै नेताहरूले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गरेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

ओलीलाई सरकार ढाल्न को को संलग्न रहेका हुन उनीहरुको नाम भन्न र प्रमाण देखाउनका लागि आग्रह गरेपछि ओली रातोपिरो भएका थिए। बिना आधार आपत्तिजनक टिप्पणी गर्ने भन्दै ओली बिरूद्ध नेताहरु खनिएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए।