May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेप्सेमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोवार बन्द

नेप्सेमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोवार बन्द

शेयर बजारमा मंगलबार उछाल आएपछि कारोबार बन्द गरिएको छ । नेप्से परिसूचक ६ प्रतिशतभन्दा धेरै बढेपछि कारोबार शुरु गरिएको करीब दुई घण्टामै बजार बन्द गरिएको हो । । हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।कारोबार खुल्ने बित्तिकै बजार बढ्न शुरु गरेको थियो । एक घण्टा नपुग्दै ४ प्रतिशतले बजार बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पनि बजार बढ्ने क्रम थामिएन र ५ प्रतिशतले उकालो चढ्यो । सर्किट ब्रेकर लागेर बन्द भएको बजार खुलेपछि पनि उकालो चढेर ६ प्रतिशत नाघेपछि मंगलबारका लागि कारोबार स्थगित गरिएको हो ।


आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।


पहिलो दिन ५२ अंकसम्म घटेर ३९ अंक बाउन्स ब्याक भएको बजार दोस्रो दिन ७२ अंकले बढेर बन्द भएको छ । मंगलवार नेप्से परिसूचक १ हजार २६० दशमलव ७५ मा बन्द भएको छ ।
मंगलवार दुई घण्टामा १३४ कम्पनीको रू. २२ करोड ७२ लाख १२ हजार बराबरको ४ लाख ८९ हजार ५३७ कित्ता शेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका १२ समूहमध्ये होटल र म्युचुअल फण्डको परिसूचक घटेको छ । बाँकी सबैको परिसूचक बढेको छ । होटल समूहको परिसूचक ३ दशमलव १३ र म्युचुअल फण्डको शून्य दशमलव ३३ प्रतिशतले परिसूचक घटेको हो ।

मंगलवारको कारोबारमा व्यापारिक समूहको सबैभन्दा धेरै ८ दशमलव ३२ प्रतिशतले परिसूचक बढेको छ । यस दिन हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रू. ३ करोड ६४ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य मंगलवार रू. ३८ ले घटेको छ । नेपाल पुनर्बीमा कम्पनी र ओरियण्टल होटलको शेयरमूल्यमा मंगलवार नकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटलको शेयरमूल्य रू. ३३ ले घटेको छ ।


९८ दिनपछि खुलेको नेपालको शेयर बजारमा दोस्रो कारोबार दिन भने लगानीकर्ताको मनोबल उच्च देखिएको यस्लाई टिकाउन सके कोरोनाको प्रभावबाट बजार मुक्त हुने विश्लेषक बताउँछन् ।