June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै यस बर्षको छठ पर्वको समापन गरिदै

अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै यस बर्षको छठ पर्वको समापन गरिदै

काठमाडौँ, ५ मङ्सिर ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै यस बर्षको छट पर्वको समापन गरिदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरि यो पर्वको शुरुवात गरिएको थियो । इतिहासमा उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको किंमदन्ती छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।


सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको पनि उल्लेख छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन भएको विश्वास गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।


संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

यस्तो छ व्रतविधि !

छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।

आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ ।

छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलाई श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।