June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

स्थानीय तहमा ३९६ अस्पताल बनाउन ५८ अर्ब अर्थले स्वास्थ्य मन्त्रालयलाई दिने, २ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने

स्थानीय तहमा ३९६ अस्पताल बनाउन ५८ अर्ब अर्थले स्वास्थ्य मन्त्रालयलाई दिने, २ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने

०५ मंसिर, काठमाण्डौ ।
अर्थ मन्त्रालयले देशका विभिन्न स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयलाई ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ दिने सहमति भएको छ । अर्थले २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले स्थानीय तहरुमा ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँबराबरको अस्पताल निर्माण कार्य अगाडि बढाउन ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिएका छन् ।
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि नै ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।
अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मंसिर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरीसकेको छ ।
चालू वर्षको बजेट भाषणका क्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरीसकेका छन् ।