June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

कोरोनाको उच्च जोखिममा अस्पतालका आकस्मिक कक्ष

कोरोनाको उच्च जोखिममा अस्पतालका आकस्मिक कक्ष

काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस (कोभिड–१९)को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो । आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दो रहेकाले वीर अस्पतालको आकस्मिक कक्ष बिरामीको रोजाइ हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ ।

कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउँछन् । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शैया रहेको वीरको आकस्मिक कक्ष उहाँले भन्नुभएझैँ शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो । अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो ।

वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा. विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहँेलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन् । ‘डिउटी’मा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ । “उहाँहरूले अप्ठ्यारो पर्दा फोन गर्नुहुन्छ, अनि आउन सक्ने भएमा फोन गर्नुहुन्छ, जसअनुसार अनकल र नियमित डिउटी साटफेर हुन्छ”, उनले थपे। साथै आपत्कालीन समयमा समेत अनकल चिकित्सक सक्रिय रहन्छन् । कुन बिरामीको अवस्था के छ र कसरी उपचार गरिने भन्ने सल्लाह अनकल चिकित्सकले दिएपछि सोही अनुसार काम चल्छ ।

निरन्तरको डिउटीमा रहेकाको हकमा भने दैनिक कार्यतालिका अनुसार नै काम हुने गर्छ । आकस्मिक सेवाकै लागि १२ जना स्टाफ नर्स खटाइएको छ । बिरामीको प्रारम्भिक अवस्था जाँच्ने, नसा खोल्ने, औषधि र अक्सिजन चढाउने काममा चिकित्सकलाई सघाउने काम गर्नुहुन्छ । कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी आकस्मिक कक्षमा काम गर्ने सबैलाई घर पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।

कार्यरत नर्सहरूका अनुसार पनि काम गर्दा अहिले समस्या छैन । रातमा काम करिब १२ घण्टा काम गरेपछि अर्को दिन उसका लागि बिदा हुन्छ । तेस्रो दिन रातिमा मात्र उसले काम गर्न आउँछ । माइनर ओटी र ट्रमा सेन्टरमा पनि अन्य केही बिरामी र हाड भाँचिएका बिरामीको व्यवस्थापन गरिने भएकाले सहज छ । आकस्मिक सेवा लिन आउनेका लागि छुट्टै एक्सरे सेवा, ल्याब सेवा निःशुल्क गरिन्छ ।

वीर अस्पताल दुई महिनाअघि कोभिड अस्पताल बनेको हो । कोभिड लागेको हो भनेर सुरुवातमा बिरामी चिनिँदैन । भयग्रस्त अवस्थामा कोभिड लागेको शङ्कास्पद बिरामी जाँच्न चिकित्सक डराउने अवस्था थियो, विस्तारै सहज भएको छ । आएका शङ्कास्पद बिरामीको पीसीआर निःशुल्क हुन्छ । पीसीआर गरेपछि आकस्मिक कक्षको एककुनामा रहेको छुट्टै पाँचवटा आइसोलेसनको शैयामा राखिन्छ । पोजेटिभ आएको खण्डमा अस्पतालको अर्को खण्डमा व्यवस्था गरिएको शैयामा सारेर उपचार गरिन्छ । “उपचार नपाएर फर्कनुपर्छ भन्ने सुनेको थिएँ तर त्यस्तो रहेनछ”, तराईबाट आकस्मिक कक्षमा उपचार गराउन आइपुगेका एक बिरामीको भनाइ छ ।

आफू बच्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसारका सुरक्षा विधि अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीले काम गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो । खोप र उपचारको खास विधि उपलब्ध नभएकाले चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाका उपाय अपनाउनुको विकल्प छैन । पीपीई, ग्लब्स, सेनिटाइजर, एननाइन्टी मास्क, भाइजरको निरन्तर प्रयोगसँगै बेलाबेलामा साबुनपानीले हात धुने गरिएको छ । “कोभिड लागेका बिरामी आएमा दुरदुर गर्दैनौँ, पीसीई लगाएरै उपचार गर्छौं र ज्यान बचाउँछौँ’’, उनले थपे। चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड सङ्क्रमण भइहालेमा १३ दिनसम्म अलग्गै आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसपछि थप एक हप्ता घरमा आराम गरेपछि बल्ल काममा आउन पाइन्छ ।

कोभिड अस्पताल बनेपछि परीक्षण कक्ष बनाउने विषयमा अस्पतालले स्थान अभाव खेप्नुपरेको छ । विगत केही समयअघि चार जना चिकित्सकले काम छाडेकाले चिकित्सकको अभाव समेत देखिएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आकस्मिक कक्षमा पनि महिला बिरामीको अत्यधिक चाप छ । गर्भवतीदेखि बच्चा जन्माउने समय पुगेका महिलाको भीड हरेक दिन हुने गरेको छ । शनिबार पनि आकस्मिक कक्षमा आउनेको भीड उस्तै थियो । आएका बिरामीलाई सेवा दिन सुरक्षा अपनाउँदै स्वास्थ्यकर्मी निरन्तर खटिरहेका भेटिए ।

अत्यधिक चाप रहने शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आकस्मिक कक्ष उस्तै व्यस्त छ । नयाँ बिरामीलाई बेड पाउनै गाह्रो छ । सातवटा भेन्टिलेटरमा सधैँजसो बिरामी रहने गरेका छन् । निःशुल्क सुविधा पाइने भएकाले पनि अत्यन्त भीडभाड रहने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए। चौबिसै घण्टा खुला रहने आकस्मिक सेवा सक्रिय छ । शङ्कास्पदले लक्षण बताउँदै फोन गरेपछि परीक्षण गरिन्छ । त्यसपछि जटिल रहेमा आईसीयूमा भर्ना गरिन्छ नत्र आइसोलेसनमा पठाइन्छ । त्यो पनि नभएमा आकस्मिक कक्षमै भए पनि राखिन्छ ।

“निको हुनेले चाँडै शøया छाडिदिए हुने, अनि हुने खानेले थोरै भए पनि शुल्क बुझाए नहुनेलाई सहज हुने थियो”, उनले भने। सबै भेन्टिरलेटर एकैचोटि सञ्चालनमा रहँदा स्वास्थ्यकर्मीको अभाव हुने गरेको उनी बताउँछन् । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।