June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पाटन दरबार क्षेत्रमा बढ्यो चहलपहल

पाटन दरबार क्षेत्रमा बढ्यो चहलपहल

पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।

‘कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो । भौतिक दूरी कायम गरेर यसो केही बेर पाटन दरबारक्षेत्र डुल्न निस्किएका हौँ,’ सरिता मैनाली र उनका साथीको भनाइ थियो ।

महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्ण मन्दिरको काखमा आएको राकेश पुरीले बताए ।

मंसिर महिनाको चिसो बढेसँगै १ देखि २ घण्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन संग्रहालय वरपर टोलमा बस्ने केही वृद्ध जमातको धारणा थियो ।

मुलुकमा कोरोना सङ्क्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । मङ्सिर महिना लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्वीर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ ।

पाटन दरबारक्षेत्र मन्दिर तथा पुरातात्विक महत्त्वका सम्पदाले भरिएको एक महत्त्वपूर्ण स्थल हो । मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए ।

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि छन् । विश्व कला परिषद्ले पाटनक्षेत्रलाई विश्वको ३५औँ कला नगरी शहर घोषणा गरिसकेको छ ।

पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्रीवितरण हुने गर्छन् । काठमाडौं उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको सुरुवात भएको कुरा पाटनवासीको भनाइ छ । रासस