June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना संक्रमणमा विलासी वस्तु सुनको आयातमा भयो १११६.६ प्रतिशतले वृद्धि

कोरोना संक्रमणमा विलासी वस्तु सुनको आयातमा भयो १११६.६ प्रतिशतले वृद्धि

कोरोना संक्रमणले अर्थतन्त्रका सम्पूर्ण चरहरु जर्जर भएका छन् । उपभोग्य बस्तुको आयातमा ठूलो गिराबट आएको छ । यही समय विलासी वस्तु सुनको आयात अप्रत्यासिक रुपमा बढेको हो । भन्सार विभागका अनुसार कोरोनाले जर्जर भएको अर्थतन्त्रमा सुन आयात मात्र १११६.६ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म ७३ करोड ७० लाख ३४ हजार रुपैयाँबराबरको सुन आयात भएको देखिन्छ । जब कि गत वर्षको सोही अवधिमा सुनको आयात ६ करोड ५ लाख ८३ हजार रुपैयाँको मात्र थियो । गत वर्षभरमा सुनको आयात १३ अर्ब ६३ करोड ९९ लाख ७५ हजार रुपैयाँको थियो । नेपालबाट चोरी छली भई सीमापारि जाने गरेका काराण पनि सुनको सबैभन्दा बढी आयात भएको देखिएको छ । चाँदीको आयात भने ८३.५ प्रतिशतले घटेर ४९ करोड ४७ लाख ५२ हजारको आयात भएको छ ।


अन्र्तराष्ट्रिय बजारमा सुनको माग र मुल्य बढेपछि त्यसको असर नेपाली बजारमा पर्ने गरेको छ । बिगतमा दैनिक ५ किलोको हाराहारीमा सुन बिक्री हुने गरेकोमा हाल मूल्य बृद्धिसँगै यो परिमाण घटेको छ । तर भन्सारको तथ्याङकले भने सुनको आयात बढाएको देखाएको छ । ब्यबसायीका अनुसार केहि बर्ष पहिले प्रयोगका लागि सुन खरिद गर्ने गरीएको भएपनी हाल करिब २५ प्रतिशत नाफा कमाउने उदेश्यले सुन खरिद गर्ने गरिएको छ । यसमा सुन अन्य सम्पत्ति जस्तो बाहिर नदेखिने भएकोले कालो तथा सेतो कारोबार गर्ने दुबै पक्षको आर्कषण लगानीको केन्द्र बनेको स्पष्ट हुन्छ ।

सुन जस्तै अन्य विलासिताका सामग्रीहरु मोबाइल, ल्यापटप, जंक फुड, खाने तेलदेखि अन्य सामग्रीको आयात बढेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार निर्माण सामग्रीमा प्रयोग हुने फलामे डन्डी, सिमेन्ट, पेट्रोलियम पदार्थ, मेसिनरी पार्टपुर्जा, विद्युतीय सामग्रीहरुदेखि सिमेन्ट क्लिंकरको आयात घटेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ । यो अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको देखिन्छ ।


विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । जुन गत वर्षको यही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको थियो । त्यसैगरी यो अवधिमा ४० अर्ब २० करोड रूपैयाँको वस्तु नेपालबाट बाहिर निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

त्यसैगरी यो वर्ष १ खर्ब १० अर्ब रूपैयाँको वस्तु कात्तिकमा आयात भएको छ । जुन गत वर्षको भन्दा ४.४५ प्रतिशतले मात्रै थोरै हो । कात्तिकमा ९ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा २.३ प्रतिशतले धेरै हो । यस अवधिमा सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकर आयात ६९.८ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो तीन महिनामा २ अर्ब ९९ करोड ३४ लाखको क्लिंकर आयात भएकोमा यो वर्षको सोही अवधिमा ४९ करोड ४७ लाख ५२ हजारको आयात भएको छ ।

आइरन स्टिलको आयात १८ प्रतिशतले घटेर २८ अर्ब १० करोड ३४ लाख ४४ हजारको भित्रिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थ ४५ प्रतिशतले घटेर २३ अर्ब १६ करोड ७७ लाख, मेसिनरी पार्टपुर्जा १९ प्रतिशतले घटेर २२ अर्ब ८१ करोड, यातायात र यसका पार्टपुर्जा २७.५ प्रतिशतले घटेर १९ अर्ब ८२ करोडको आयात भएका छन् ।

भन्सार विभागका अनुसार यस वर्षको कात्तिकमा दैनिक १ अर्ब रूपैयाँभन्दा धेरै राजस्व भन्सारबाट संकलन भएको छ । आर्थिक बर्षमा अन्य चरहरु घटेपनि कार्तिकमा भने संकलन बढेको हो ।


विभागका अनुसार यो कात्तिकमा ३६ अर्ब ४६ करोड रूपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको कात्तिकमा २९ अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको कात्तिको तुलनामा यो वर्षको कात्तिकमा २४.२ प्रतिशतले भन्सार राजस्व बढेको छ । वस्तु आयात १० प्रतिशतले घटे पनि राजस्व संकलन भने गत वर्षको यही अवधिको तुलनामा ०.५८ प्रतिशत मात्रै कम छ । गत वर्ष पहिलो ४ महिनामा १ खर्ब २२ अर्ब ९७ करोड रूपैयाँ राजस्व भन्सार संकलन भएकोमा यो वर्ष १ खर्ब २२ अर्ब २५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ ।