June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

निजगढ विमानस्थल: गुरुयोजना बनाउने कम्पनी छनोट

निजगढ विमानस्थल: गुरुयोजना बनाउने कम्पनी छनोट

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिए ।

प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको जानकारी दिँदै उनले थपे, ‘‘गुरुयोजना निर्माणको जिम्मा अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले पाएको छ ।’’

गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।

मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको हो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए ।

३० करोड रुपियाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो । ‘‘सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए’’, महानिर्देशक पोखरेलले भने, ‘‘विस्तृत प्रस्ताव आएका मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा–बीडीए कम्पनीले गुरुयोजना निर्माण गर्न छनोट भएको हो ।’’

यसैगरी रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको आन्तरिक उडान भर्न प्रयोग भइरहेको धावनमार्गको समानान्तर हुने गरी ट्याक्सी–वे निर्माणको परामर्शदाता कम्पनीको छनोट भएको महानिर्देशक पोखरेलले जानकारी दिए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।