June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

मनकामना केबलकार २३ औं बर्षमा प्रवेश, सुरक्षाका सबै मापदण्डसहित केही समयभित्रै संचालनमा आउने

मनकामना केबलकार २३ औं बर्षमा प्रवेश, सुरक्षाका सबै मापदण्डसहित केही समयभित्रै संचालनमा आउने

०८ मंसिर, काठमाण्डौ ।


नेपालको पहिलो मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ। बार्षिक १० लाख भन्दा बढी यात्रुहरुलाई सेवा दिँदै आएको मनकामना केबलकार आजबाट २३ औं बर्षमा प्रवेश गरेको हो ।
मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले कोरोनाका कारण हाल बन्द अवस्थामा रहेको सो केबलकार अब कही समयभित्रै संचालनमा ल्याउने तयारी गरिएको बताए । उनले भने, ‘हामी २३औं वर्षमा प्रवेश गरेका छौं। कोभिडका कारण झण्डै सात महिनादेखि केवलकार बन्द छ,’ उनले भने, ‘सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारीमा छौं।’
‘स्थानीयको सुरक्षाका लागि समेत हामीले केवलकार खोलेनौं। तर स्थानीय उद्योगी व्यवसायी पनि केवलकार खोल्न आतुर रहेको पाएका छौं,’ श्रेष्ठले भने, ‘स्थानीय तहको स्वीकृतिमा केवलकार केही दिनभित्रै खुल्नेछ।’

करिव १५० जनालाई रोजगारी प्रदान गर्दै आएको सो केवलकारले राजस्वको रुपमा राज्यलाई समेत ठूलो योगदान गरेको श्रेष्ठले बताए । उनका अनुसार कोभिडपछि केवलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने सेवा पनि ल्याइएको छ। ’सुगम देखि दुर्गम क्षेत्रसम्म इ(पे को पहुँच पुगिसकेको छ। नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेका हौं,’ उनले भने।