June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना प्रभावित क्षेत्रलाई पुनः उत्थान कर्जा प्रवाह गर्न निर्देशनः ऋणीको विवरण बैंकले सार्वजनिक गर्नुपर्ने

कोरोना प्रभावित क्षेत्रलाई पुनः उत्थान कर्जा प्रवाह गर्न निर्देशनः ऋणीको विवरण बैंकले सार्वजनिक गर्नुपर्ने

९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै परिपत्र गरेको छ । राष्ट्र बैंकले मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णय अनुसार स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको बैंक तथा वित्तीय क्षेत्रलाई परिपत्र गरेको हो । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको छ । सोही मन्त्रीपरिषदको निर्णय कार्यान्वायन गर्नको लागि केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई परिपत्र गरेको हो ।


राष्ट्रबैंकले न्यून प्रभावित क्षेत्रका रुपमा श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम ५ करोड रुपैयाँसम्म प्रदान गर्न सकिनेछ । यस्तो कर्जा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशतसम्म मात्रै प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सीमा स्वीकृत गर्दा कार्यविधिको दफा ६ को उपदफा २ को व्यवस्थाका साथै कार्यविधि बमोजिम प्रवाहित कुल कर्जाको ३० प्रतिशत रकम घरेलु साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्नेछ । यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्क बाहेक अन्य कुनैपनि किसिमको सेवा शुल्क लिन पाइने छैन ।

राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यावसायिक निरन्तरता कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो बेवसाइटमार्फत त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।