June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोनाको असर विकास बैंकको नाफामाः व्यवसाय विस्तार र कर्जा उठाउन समस्या

कोरोनाको असर विकास बैंकको नाफामाः व्यवसाय विस्तार र कर्जा उठाउन समस्या

विकास बैंकहरुमा अन्य क्षेत्रको जस्तै कोरोनाका असर देखिएको छ । कोरोनाको असरका कारण विकास बैंकहरुको व्यवसाय विस्तारमा असर परेको छ भने कर्जा उठाउन ठूलो समस्या देखिन्छ । विकास बैंकहरुको पनि खराब कर्जा बढ्दो अवस्थामा देखिन्छ । विकाश बैंकहरुले कर्जा जोखिम बापत धेरै रकम छुट्याउनु परेको त छदै छ नै नाफापनि कम भएको छ । विकास बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औषतमा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । पहिलो त्रैमासमा १५ वटा विकास बैंकहरुले कुल १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन जसमध्ये दुई विकास बैंक खुद नोक्सानीमा देखिएका छन् । ५ वटा बैंकको वितरणयोग्य नाफा ऋणत्मक देखिएको छ ।

नाफा कमाउँनेमा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक छ । पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकले खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ । यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो । यसैगरी वितरणयोग्य मुनाफा पनि मुक्तिनाथको बढी रहेको छ । यो बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ । चुक्तापुँजीको हिसाबले पनि मुक्तिनाथ नै अग्रस्थानमा छ । यो बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।


मुक्तिनाथ १ अर्ब ७६ करोड रुपैयाँ रिजर्भका साथ दोस्रो स्थानमा मात्र देखिन्छ । यो विकास बैंक सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ । यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ । निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ । यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ ।


खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ । यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । कामना सेवाको वितरणयोग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ र ज्योति विकास बैंकको मुनाफा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ । यस्तै, तेस्रो बढी नाफा महालक्ष्मी विकास बैंकले आर्जन गरेको छ । यो बैंक नाफा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ । रिजर्भ आकारको हिसाबले १ अर्ब ९१ करोड रुपैयाँका साथ महालक्ष्मी अग्रस्थानमा छ ।
त्यस्पछि क्रमश ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, एक्सेल डेभलपमेण्ट र तिनाउ मिसन बैंक नाफा कमाउन सफल भएका छन् । चुक्तापुँजी ३ अर्ब ४९ करोड रुपैयाँका साथ ज्योति विकास बैंक दोस्रो र ३ अर्ब २३ करोड रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा छन् ।


उच्च निक्षेप संकलनमा गरिमा ४८ अर्ब ६२ करोडका साथ दोस्रो र ज्योति ४० अर्ब ४१ करोडका साथ तेस्रो स्थानमा छन् । यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड, गरिमा ३८ अर्ब ७६ करोड र ज्योतिले ३१ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


खुद ब्याज आम्दानी महालक्ष्मीले ४२ करोड ५७ करोड र कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ गरेको छ । वार्षिकीकरण प्रतिसेयर आम्दानी हिसाबले कामना सेवा अगाडि देखिएको छ । यो बैंकको ईपीएस ३१.५१ रुपैयाँ रहेको छ । एक्सेलको ईपीएस २७.८३ रुपैयाँ रहेको छ भने मुक्तिनाथको २७.२१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थमा भने १६२.२८ रुपैयाँले महालक्ष्मी अग्रस्थानमा छ । त्यसपछि लुम्बिनीको १६०.९८ रुपैयाँ र सहाराको १५५.४८ रुपैयाँ रहेको छ । त्यस्तै मितेरीको निष्क्रिय कर्जा दर ०.२२ र ज्योतिको निष्क्रिय कर्जा ०.६५ प्रतिशत छ ।